काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन्।
शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि कारबाही हुने बताए।
उनले आफू राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने बताए। उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको बाधकका रुपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने बताए।
उनले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र) का नेताहरु पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको बताए। उनले कसैले बढुवा, सरुवाको निम्ति अनियमितता गरेर रकम दिने र लिनेलाई नै जेल हाल्ने बताए।
उनले भने, ‘तपाईंहरुले अहिले भर्खरै देख्नुभएको छ, आफ्नै देशका नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ सम्पती आर्जन गर्नका लागि अर्को देशमा शरणार्थी बनाएर पठाउने जुन योजना थियो, त्यो योजना अनुसन्धान, स्वतन्त्र, निष्पक्ष रुपमा गरेर दोषीमाथि कारबाही हुनुपर्छ भनेर गृह मन्त्रालय र नेपाल प्रहरीले न्यायालयमा पेस गर्ने प्रक्रिया भएको छ। हामी आशा गर्छौं, पीडितलाई न्याय दिने, हाम्रो अनुसन्धान खेर जाने छैन। राज्यका अरु अंगहरुले पनि सकारात्मक निर्णय गर्नेछ भन्ने आशा गर्नैपर्छ। हामीले एक दुई वटा राम्रा काम गरेका छौं भनेर विश्राम गर्ने पक्षमा छैनौं।’
उनले आफू सयौं पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने बताए।