• बैशाख २६ २०८३, शनिबार

जातिगत तथ्यांकप्रति मगर संघको आपत्ति, तीन दिनभित्रै नसच्याए आन्दोलन गर्ने चेतावनी

जेष्ठ २० २०८०, शनिबार

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जातिगत तथ्यांकप्रति नेपाल मगर संघले आपत्ति जनाएको छ । नेपाल सरकार, राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ मा लिइएको राष्ट्रिय जनगणनाको जातिगत तथ्यांकप्रति उक्त संघको केन्द्रीय समितिले आपत्ति जनाएको हो ।

हिजो (शुक्रबार) संघको केन्द्रीय समितिले राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको जातिगत तथ्यांक त्रुटिपूर्ण रहेको भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जातिगत तथ्यांकप्रति नेपाल मगर संघको गम्भीर ध्यानाकर्षण भएको छ । जातिगतरूपमा तेस्रो जनसंख्या रहेको आदिवासी मगर समुदायलाई टुक्र्याएर कमजोर बनाउने उद्देश्यले पुन मगरहरूमध्ये केही पुनको तथ्यांकमात्रै सार्वजनिक गरिएको छ । नेपाल मगर संघ, केन्द्रीय समितिबाट पटकपटक तथ्यांक विभागलाई ध्यानाकर्षण गराउने, ज्ञापन पत्र बुझाउने जस्ता कार्यहरू हुँदाहुँदै पनि सिंगो मगर समुदायको भावनाविपरीत र संवैधानिक रूपमा स्थापित आदिवासी जनजाति आयोगको सल्लाह सुझावलाई समेत व्यवस्ता गरि मनोमानी ढंगले गरेको कार्यप्रति हाम्रो घोर आपत्ति रहेको छ ।’

मगर जातिको मुख्य ७ थरहरूमध्ये पुन थर एक प्रमुख मगरको थर हो । पुन थरभित्र करीव १६४ भन्दा बढी उपथरहरू रहेका छन् । पुन मगरलाई छुट्टै सूचीकरण गरिनु भनेको सिंगो मगर समुदायको अस्तित्व नामेट पार्ने षड्यन्त्र भएको उसको ठहर छ ।

केही पुनको तथ्यांक ९८२७ (०.०३) प्रतिशतलाई छुट्टै तथ्यांक बनाई सार्वजनिक गरेको भन्दै नेपाल मगर संघले यो तथ्यांक तीन दिनभित्रै सच्याउन माग गरेको छ ।

यदि यो माग सम्बोधन नगरिए जातीय अस्थित्व र पहिचानको रक्षार्थ सिंगो मगर समुदाय आन्दोलित हुन बाध्य हुने संघका अध्यक्ष ज्ञानेन्द्र पुनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :