काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङले वर्तमान सरकारको घोर विरोध गरेको छ । उसले जिल्लास्थित खानीखोलामा एक कार्यक्रमको आयोजना गरि विरोध गरेको हो ।
कार्यक्रम समापन पश्चात् संघले मसाल जुलुस प्रदर्शन गरि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्लासमेत दहन गरेको छ ।
जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीको रिहा, अखण्ड भारतको नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनी समेटेको भन्दै उक्त संघका नेता तथा कार्यकर्ताले घोर विरोध गरेका हुन् ।
वर्तमान सरकारले सोही नक्सामा असहमति जनाउनुको साटो नेपाललाई भारतमा विलय गराउने उदेश्यले नागरिकता विधेयक पारित गरेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सोही कोसेली सुम्पेकोसमेत आरोप लगाए ।
संघ नेपालका केन्द्रीय सदस्य मोदनाथ शिलवालले कार्यक्रलाई सम्बोधन गर्दै भने, ‘अहिलेको सरकारले वडासमेत चलाउन सक्ने स्थिति छैन । यस्तोबेला आत्मनिर्भर भएर अघि बढ्नुको सट्टा भारतसामु घुँडा टेकेको छ । यो राष्ट्रहितको पक्षमा छैन ।’ वर्तमान सरकारको अकर्मण्यताप्रति जनता आजित भएको बताउँदै शिलवालले राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरे ।
कार्यक्रमको समापन गर्दै राष्ट्रिय युवा संघ जिल्ला शाखा अध्यक्ष सुनिल तामाङले जनजीविकामा समस्या, राष्ट्रघात र भ्रष्टाचारविरुद्ध निरन्तर आन्दोलन गर्ने बताए ।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव हरिशरण जमरकट्टेलले गरेका थिए भने अनेरास्ववियुका नेता आयुष उप्रेतीले छोटो भनाइ राखेका थिए । विरोध कार्यक्रम र जुलुसमा केन्द्रीय सदस्य कमल सिलवालसहितका युवाहरूको उल्लेख्य उपस्थित थियो ।