झापा । झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन् ।
दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन् । कचनकवलले आजदेखि जेठ २२ गतेसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवद्वारा जारी सूचनामा उल्लेख छ ।
आजदेखि सो गाउँपालिकाका सबै सामुदायिक विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । यसैगरी मेचीनगर नगरपालिकाले पनि गर्मीकै कारण दुई दिनका लागि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए ।
विद्यालय बन्द भएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । केही दिन झापामा बुधबारको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो । -रासस