काठमाडौं । प्रगतिवादी साहित्यकार तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’ को सम्झनामा आज देशभर विविध कार्यक्रम गरि उनको सम्झना गरिएको छ । आज भन्दा २२ वर्षअघि आजकै दिन तत्कालिन शाही सरकारले उनलाई माओवादी जनयुद्धलाई सहयोग गरेको आरोपमा गिरफ्तार गरि हत्या गरेको थियो ।
यसैबीच मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुको आयोजनामा गरिएको कार्यक्रममा सहभागीहरुले सेनलाई स्मरण गरे ।
सेनको सम्झनामा आयोजित कार्यक्रम शान्तिबाटीकाबाट सुरु भएको प्रभातफेरी र्याली बागबजार, पुतलीसडहुँदै महेन्द्र पुलिस क्लब अगाडि गएर कोणसभामा परिणत भएको थियो । सहभागीहरूले इच्छुकका हत्यारालाई कारवाही गर, लगायतका नारा लेखिएका प्लए कार्डहरू बाेकेका थिए ।
०६० जेष्ठ १३ गते पत्रकार सेनलाई महेन्द्र प्रहरी क्लबमा नै कुटिकुटी हत्या गरिएको समाचार जनआस्था साप्ताहिकले प्रकाशन गरेको थियो । त्यसकारण महेन्द्र प्रहरी क्लब अगाडि नै कोणसभाको आयोजना गरिएको हो । प्रत्येक वर्ष नै उनको सम्झानामा यसैगरी कार्यक्रमहरु गरिँदै आइएको छ ।
सभामा शहिद पत्रकार सेनको सम्झनामा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता दिनेश शर्माले गणतन्त्र व्यवस्थामा पनि शहिदका सपनामाथि कुठाराघात गरिएको भन्दै जनताको अर्को विद्रोहले नै संसदीय व्यवस्थाका झारपातहरु मिल्काउने दाबी गरे । अर्का वक्ता तथा लेखक रोशन जनकपुरीले सेनका हत्यारालाई कारवाही गर्नुको साटो पुरस्कृत गरिएको भन्दै रोष प्रकट गरे ।
उनले सेनको आदर्श मर्न नसक्ने र सो आदर्शलाई आफूहरुले बोकेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कोणसभामा साहित्यकार तथा लेखक खेम थपलिया, पत्रकार नारायण पंगेनी, साहित्यकार अशोक सुवेदी, जगदिशचन्द्र भण्डारी, इन्दिरा अधिकारी, मित्रलाल पंगेनी, ढुण्डिराज अधिकारी, अनिल श्रेष्ठ, रसुवाली कवि, बसन्त बोगटी, मोदनाथ मरहट्ठा, गौरी देवकोटा, हिरामणि दुःखी लगायतले कृष्ण सेनका बारेमा मन्तव्यसहित आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार कमल बुढाले गरेका थिए ।
यसैबीच सत्तारुढ माओवादी केन्द्रले पनि आज साहित्यकार तथा पत्रकार कृष्ण सेनको सम्झनामा एक कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्धको आन्दोलनलाई नरोक्ने बताएका छन् ।