• असार २ २०८२, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरण : अख्तियार र सम्पत्ति शुद्धीकरणलाई अलग्गै अनुसन्धान गर्न पठाइयो

जेष्ठ ८ २०८०, सोमबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अलग्गै अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई नेपाल प्रहरीले लेखि पठाएको छ।

अनुसन्धानको क्रममा सम्पत्ति शुद्धीकरण गर्ने र भ्रष्टाचार गर्ने कार्यसमेत देखिएकाले अलग्गै अनुसन्धान गरी मुद्दा दायर गर्न अनुसन्धान टोलीले गरेको सिफारिस अनुसार यी दुई निकायलाई पत्रचार गरिएको हो।

भ्रष्टाचारको विषयमा अख्तियारले अनुसन्धान गर्ने अधिकार पाएको छ। अर्थमन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण विभागले आतंकवादी गतिविधि र गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिमा छानबिन गर्ने गर्दछ।

यी दुई निकायले अनुसन्धानपछि विशेष अदालतमा मुद्दा दायर गर्नेछन्। नक्कली शराणार्थी प्रकरणमा प्रहरीले तीन अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गर्न सिफारिस गरेको छ।

अनुसन्धानपछि संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा हदैसम्मको सजाय हुनुपर्ने सिफारिस प्रतिवेदनमा गरिएको छ। प्रहरीको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार पेस भएको छ।

सरकारी वकिलले त्यसमा दुई दिन अध्ययन गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने छ। उक्त अभियोगपत्रलाई आधार बनाएर अख्तियारले भ्रष्टाचारमा अनुसन्धान गर्न सक्ने छ।

अख्तियारले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डेसहितको संलग्नतामा राज्यशक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा छानबिन गर्न सक्ने छ।

त्यस्तै उनीहरुको व्यक्तिगत रुपमा आर्जन गरेको अकुत सम्पत्तिमा पनि अख्तियारले छानबिन गर्न सक्ने छ। त्यस्तै सम्पत्ति शुद्धीकरण विभागले यो प्रकरणमा जोडिएका व्यक्तिहरुको आर्जन र उनीहरुको स्रोत पुष्टि खोज्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गर्न सक्ने छ।