काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका १६ जनाविरुद्ध पाँच वटा कसुरमा मुद्दा चलाइने भएको छ ।
प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने क्रममा विभिन्न पाँच कसुरमा मुद्दा चलाउनु पर्ने निष्कर्ष निकालेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित ३२ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ।
उक्त अनुसन्धान प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार अन्य १६ जनाविरुद्ध ठगी, सम्पत्ति शुद्धिकरण, संगठित अपराध, राष्ट्रिय हितविपरीतको कसुरमा मुद्दा चलाउने निर्णय लिएको हो।
त्यसैगरी रायमाझी, खाँण, टेकनारायण पाण्डे र इन्द्रजित राईसहित सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई भ्रष्टाचार मुद्दा पनि चलाउने गरी प्रहरीले फाइल सरकारी वकिलकहाँ पेस गरेको हो।