काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ शीर्ष नेताहरुको बैठकमा कसैलाई उम्काउने विषयमा छलफल नभएको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र उनी सम्मिलित बैठकमाथि सन्देह सिर्जना भइरहेका बेला ओली यस्तो बताएका हुन्।
आइतबार प्रतिनिधि सभा बैठकमा ओलीले भने, ‘’तीनटा पार्टीका नेता भेट्दा सन्देह पैदा भयो। मन्त्रिपरिषद् बैठक बस्दा सन्देह भयो। के सदन चलाउने कुरामा नेताहरु छलफल गर्दैनन्? संसद्मा जटिल प्रकारका बनावट हुन्छन्। ती स्मुथ्ली कसरी लाने छलफल गर्दैनन्?’
तीमध्ये अन्य २ नेताहरुमाथि भन्दा पनि आफूलाई शंकाको दृष्टिले हेरिएको बुझ्दै उनले थप प्रश्न गरे, ‘दुईटा नेता दूधमा नुहाएका, म चाहिँ लौन मान्छे बचाइदेऊ भन्ने गएको? बाघ भोकै बस्छ, घाँस खाँदैन। केपी ओलीले म्याउँ म्याउँ गर्दैन।’
उनले सक्कली प्रतिवेदनमा गलत नामसूची घुसाइएको बताए। कभर त्यही राखेर कागज फेरिएको बताउँदै त्यसलाई खोज्नुपर्ने बताए। उनले भने, ‘कभर त्यही राखियो, भित्रको कागज फेरियो। व्यक्तिको सूची परिवर्तन गरियो। परिवर्तन गर्ने खोजौं न। एमालेलाई गाली गर्न रहर लाग्या छ भनेर रहर गर्न पनि होइन जिन्दगी। म चुनौतीका साथ भन्छु । म प्रम भएँ। गृहमन्त्री भएँ। परराष्ट्र मन्त्री भएँ। छानबिन गरियोस्।’ सरकार दोषी उम्काउने र निर्दोष फसाउनेगरी लागेको समेत उनले बताए। त्यस्तो हुन नदिने उनको भनाइ छ।