• असार ३ २०८२, मंगलवार

आगामी भारत भ्रमण दुबै देशका लागि ऐतिहासिक बन्ने प्रधानमन्त्री दाहालको विश्वास

जेष्ठ ६ २०८०, शनिबार

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी भारत भ्रमण दुबै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका छन् ।राजधानीमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परिवर्तनमार्फत नै जनतालाई सेवा, सुशासन र विकास दिन सकिन्छ भन्ने संकल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताए ।

शीर्ष नेताहरुबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु,संक्रमणकालीन न्याय र गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्नमै केन्द्रित हुने गरेको उनको दाबी थियो ।

भारतसँग खुला सीमा,आर्थिक,राजनीतिक,सामाजिक,जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणका दोषीहरूलाई कुनै हालतमा नछोड्ने र मुद्दा दर्ता भएपछि पनि थप अनुसन्धानको प्रकिया जारी राख्ने जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरण अब आमनेपाली र अन्तर्राष्ट्रिय रुपमा पनि चासोमा परिसकेकाले यसबाट कोही पछि हट्न नसक्ने प्रधानमन्त्री भनाई थियो ।