• मंसिर १२ २०८१, बुधबार

विराट–बर्जु हाफ म्याराथनमा च्याम्पियन बने नरेन्द्र सिंह रावल र रेखा विष्ट

जेष्ठ ६ २०८०, शनिबार

काठमाडौँ। कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र सिंह रावल प्रथम बनेका छन् । म्याराथन धावक सिंहले निर्धारित मोरङ विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पार गर्दैं प्रथम बनेका हुन् ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम रावलले १ लाख रुपैयाँ, द्वितीय हुने शाहीले ७५ हजार रुपैयाँ, र तृतीय हुने जोशीले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । चौथो, पाँचौं र छैटौं हुनेले सान्त्वना स्वरुप जनही १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेका छन् । पुरुष तर्फको यो प्रतियोगितामा १०१ जनाले प्रतिस्पर्धा गरेका थिए ।

यसैबीच महिलातर्फको ५ किलोमिटर म्याराथनमा नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएकी छिन् । उनले १९ मिनेट ४ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । दोस्रो स्थानमा सशस्त्र प्रहरीकी सिमा थारु चौधरी भइन् । उनले उक्त दूरी पार गर्न १९ मिनेट ११ सेकेण्ड लगाइन् ।

यस्तै नेपाल प्रहरीकी तिर्सना कुमालले सोही दूरी १९ मिनेट ३५ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हासिल गरिन् भने २० मिनेट १६ सेकेण्डमा उक्त दूरी पार गर्दै विराटनगरकी अंशु मण्डलले चौथो स्थान प्राप्त गरिन् ।

प्रतियोगिताकी प्रथम खेलाडी रेखा विष्टले २५ हजार, द्वितीय हुने चौधरीले २० हजार र तृतीय कुमालले १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेकी छन् । प्रतियोगितामा २९ जना महिला सहभागी थिए ।