• असार ३ २०८२, मंगलवार

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी

जेष्ठ २ २०८०, मंगलवार

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणको बयान सोमबारबाट सुरु भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका एक जना उपन्यायाधिवक्ता र जिल्ला प्रहरी परिसर, काठमाडौंका मुद्दाका शाखाका डीएसपी निरञ्जनदत्त भट्टको उपस्थितिमा उनको बयान भइरहेको हो ।

सरकारी वकिलको कार्यालयले खाँणको बयान सोमबारै सक्ने तयारी गरेको थियो । तर, उनले बोल्न नमानेपछि पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीको बयान थालिएको थियो । जिल्ला अदालत, काठमाडौंबाट तीन दिन म्याद भएलगत्तै उनलाई सरकारी वकिलमा लगेर बयान थालिएको थियो ।

अबेरसम्म भएपनि बयान सक्ने सरकारी वकिल र प्रहरीको तयारी छ । बुधबारभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएकाले पनि प्रहरी दबावमा छ ।