काठमाडौँ । कैलालीको टिकापुर घटनामा जिल्ला र उच्च अदालतको फैसलाले थुनामा रहेका रेशम चौधरीको मुद्दामा आज बहस सकिएको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार बहस सकिएपछि सकेसम्म आजै फैसला आउन सक्ने बताइएको छ ।
यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् । जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस भएको थियो ।
प्रतिवादी चौधरी लगायत १४ जना प्रतिवादीको तर्फबाट सफाइ पाउनुपर्ने भन्दै बहस भएको थियो । प्रतिवादीतर्फका अधिवक्ताहरुले घटना राजनीतिक भएको कारण राजनीतिक तबरबाटै हल गर्नुपर्ने र घटनामा संलग्न नभएका व्यक्तिहरुलाई मुछिएको भन्दै उनीहरुलाई सफाइ दिनुपर्ने माग गरिएको थियो ।
जवाफी बहसमा सरकारी वकिलका तर्फबाट घटनाको योजनाकार रेशमलाल चौधरी र लक्ष्मण थारु नै रहेको र अन्य व्यक्तिहरुको संलग्नतामा घटना गराइएको भन्दै उनीहरुलाई हदैसम्मको सजाय हुनुपर्ने र कैलाली जिल्ला अदालत तथा उच्च अदालत दिपायलको फैसला सही भएको बहस गरिएको थियो ।
सरकारले केही दिनअघि चौधरीलाई माफी दिनकै लागि विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ। चौधरीको भविष्य सर्वोच्चले सुनाउने फैसलामै निर्भर हुने देखिन्छ। नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरी सहितका टीकापुर घटनामा संलग्नहरुलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसदमा दर्ता गराएको थियो। तर उक्त विधेयक पास हुनुअघि नै सर्वोच्चले फैसला सुनाएमा उक्त व्यवस्था काम नलाग्ने देखिन्छ।
सो मुद्दामा सर्वोच्चले सफाइ दिएमा उनले सबै अभियोगमा क्लिन चिट पाउँदै राजनीतिमा फर्कन पाउनेछन् भने सर्वोच्चले दोषी ठहर गरेमा उनलाई माफी दिने सबै बाटा बन्द हुनेछन्। प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।