• बैशाख २७ २०८३, आईतवार

भारतको प्रेसर कूटनीतिमा नपर्न प्रधानमन्त्रीलाई रघुजी पन्तको सुझाव

जेष्ठ १ २०८०, सोमबार

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमण सरिरहेकोमा आशंका व्यक्त गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्रीको भारत भ्रमण सरिरहने, तर पूर्वराजालाई स्वागत गर्ने प्रवृति देखा परेको भन्दै यसलाई प्रेसर कूटनीतिको संज्ञा दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रेसर कूटनीतिमा नपर्न सुझाब दिए ।

‘हाम्रो प्रधानमन्त्री भारत जान्छु, जान्छु भन्नुहुन्छ । भ्रमण सरेको सर्‍यै छ । फेरि कहिले हुने हो थाहा छैन’ उनले भने, ‘तर नेपालको प्रधानमन्त्रीलाई भारत आउन नदिएर पर्खाइराख्दा खेरि राजालाई उत्तर प्रदेशमा स्वागत गरिएको छ ।’ नेपालका पूर्वराजालाई स्वागत गर्ने सन्दर्भमा त्यहाँका मुख्यमन्त्री र मन्त्रीहरुले बोलेका विषय आपत्तिजनक रहेको बताए ।

नेपालका तत्कालीन राजालाई भारत भ्रमणमा बोलाइएको भन्दै उनले यसलाई प्रेसर कूटनीतिको संज्ञा दिए । ‘यही हो खेल, भारतमा नेपालको प्रधानमनत्रीलाई आउन नदिने, तर नेपाली जनताले हटाएको राजालाई प्रधानमन्त्रीको सट्टा स्वागत गर्ने ? यो प्रेसर डिप्लोमेसी …’ सांसद पन्त अगाडि थप्छन्, ‘के मेरो एजेण्डा पूरा गर्छौ ? तिमीले बोकेर आउने एजेण्डा र कार्यसूचीमा मेरो एजेण्डा पर्छ कि पर्दैन ? अनि मात्रै भारतमा स्वागत गर्छु भनेर दबाब दिन राजलाई भारतमा बोलाइयो।’