काठमाडौं । कांग्रेसको पदाधिकारी बैठकमा बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नेबारे छलफल भएको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठक खाँणको पक्राउमा केन्द्रित थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण बुधबार बिहान पक्राउ परेपछि देउवाले अपराह्न पदाधिकारी बैठक राखेका हुन् । बैठकमा उपसभापति पूणर्बहादुर खड्काले खाँणको पक्राउपछिको पार्टीको रणनीतिबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतले पार्टीका केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्नेपर्नेमा जोड दिएका थिए । सहमहामन्त्री महेन्द्र यादवले भने खाँणलाई षड्यन्त्र पूर्वका पक्राउ गरिएको भन्दै लोकतन्त्रमाथि खतरा रहेको बताएका थिए ।
आजको बैठकले खाँणबारे कुनै निणर्य भने नलिएको प्रवक्ता प्रकाशशरण महतले बताए । उनका अनुसार भोलि दिउँसो २ बजे पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक बस्ने छ । एक पदाधिकारीले भने, ’आज छलफल भएको छ । भोलि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेर निलम्बनबारे निणर्य हुन्छ ।’
पार्टीको जिम्मेवारीबाट खाणलाई निलम्बन गरेर नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको पक्षमा कांग्रेस उभिने ती पदाधिकारीले बताए ।