काठमाडौं । ‘निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन’ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले टोपबहादुर रायमाझीलाई कारबाहीको दायरामा ल्याउन सहज हुने अनुमान गरिएको थियो ।
एक साता अघिको यो अभिव्यक्ति पश्चात् ओलीका पछिल्ला भनाइमा समानता देखिँदैन । उनले केही दिनयता एमालेमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिशोध साध्न रायमाझीमाथि कारबाहीको डण्डा चलाएको बताउँदै आएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी बचाउमा पार्टीका शीर्षस्थ नेताहरू नै एक ठाउँमा उभिएका छन् । उनीहरूले फरार रायमाझीलाई कारबाहीको दायरामा ल्याउनुको साटो बचाउमा उत्रिएका छन् । उनीहरूले अनुसन्धानलाई प्रभाव पार्नेदेखि रायमाझी दोषी हुनै नसक्ने जस्ता अभिव्यक्ति दिँदै आएका छन् ।
अध्यक्ष केपी शर्मा ओली
‘गत बिहीबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँगको भेट पश्चात् एमाले अध्यक्ष ओलीले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै निर्दोष पर्नुहुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास गर्नु हुँदैन ओलीले भने,’ ‘निर्दोष फसाउन खोजीयो भने हामी सहदैनौँ ।’
अध्यक्ष स्वयं रायमाझीको बचाउका लागि उत्रिएको राजीतिक वृत्तमा आलोचना भइरहेको छ । उनले कारबाही गर्नुको साटो फरार सचिव रायमाझीको बचाउमा उत्रिन नहुने विश्लेषकहरूको तर्क छ । तर, उनी सरकारलाई ठाडो चुनौती दिँदै रायमाझीमाथिको कारबाही प्रधानमन्त्री प्रचण्डको प्रतिशोध भएको बताउँदै आएका छन् ।
उपाध्यक्ष विष्णु पौडेल
टोपबहादुर रायमाझीलाई कारबाही गर्न एमालेभित्रैबाट दबाब आएको उपाध्यक्ष पौडेल स्वीकार्छन् । आज (मंगलबार) बसेको पार्टी सचिवालय बैठकको समापन पश्चात् सञ्चारकर्मीसँगको प्रतिक्रियामा रायमाझीलाई कारबाही गर्न चौतर्फी दबाब आएको बताए ।
तर, तत्काल कारबाहीका लागि कुनै प्रक्रिया अघि नबढाइने समेत उनले बताए । किनकि यतिबेला रायमाझीबारे अनुसन्धान भइरहेकोले कारबाही प्रक्रिया अघि नबढाएको पौडेल बताउँछन् ।
बैठक आरम्भ हुनु अगावै उनले भने, ‘पार्टीभित्रैबाट साथीहरूले निलम्बन गर्नुपर्छ भनेर दबाब दिइराख्नु भएको छ । अहिले बैठकमा पनि छलफल हुन्छ । तर, मलाई लाग्छ आजको बैठकले निलम्बनको निर्णय नलिन पनि सक्छ ।’ पौडेलले भनेझै एमालेले पनि रायमाझीको कारबाहीका लागि कुनै निर्णय गरेन ।
उप–महासचिव पृथ्वीसुब्बा गुरुङ
‘कमरेड टोपबहादु रायमाझीले जुन अनुसन्धानको सन्दर्भमा उहाँको नाम मुछिएको छ । कानुन र विधिको शासन मान्ने एमाले पार्टी भएको हुनाले विधिपूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ,’ सुब्बाले भने ।
कारबाही विलम्ब भएन र ? भन्ने प्रश्नमा सुब्बाले रायमाझीबारे आसन्न केन्द्रीय कमिटीको बैठकमा ठोस निर्णय हुनसक्ने भन्दै पन्छिए । नक्कली भुटानी शरनार्थी प्रकरणबारे थप अनुसन्धान भइरहेको भन्दै कारबाही गर्न हतार गर्न नहुने बताए ।
पूर्वमन्त्री पदमाकुमारी अर्याल
आर्याल पनि रायमाझीको बचाउमा उत्रिएकी छन् । उनले अहिले नै पार्टीले कारबाहीका लागि प्रक्रिया अघि बढाउन नहुने तर्क गरिन् । कानुनी रुपमा अनुसन्धान भइरहेकोले पार्टीले केही गर्न नसक्ने बताइन् । रायमाझीलाई अनुसन्धानले दोषी ठहर नगरेसम्म कारबाही गर्न नहुने बताउँछिन् ।
‘निष्पक्ष अनुसन्धानका लागि आफ्नो पार्टीले हरदम सघाउने उनले बताइन् । दोषी उम्किन नहुने उनले तर्क गर्दै आएकी छन् । यदि दोषी ठहर भए पार्टीले रायमाझीलाई कारबाही गर्छ । अन्यथा अहिले नै कारबाही गर्नु उचित हुँदैन,’ अर्याल भन्छिन् ।
एमाले सांसद सूर्य थापा
थापाले बजेट अधिवेशन आरम्भ भएकै दिन अर्थात् हिजो (सोमबार) संसदमा भुटानी शरणार्थी प्रकरणबारे बोलेका थिए । उनले आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीलाई कारबाही गर्ने नै हो भने क्यान्टोनमेन्ट, ओम्नी, यति, ललिता निवास जस्ता प्रकरणको फाइल पल्टाउनु पर्ने माग राखे ।
उनले प्रधानमन्त्री प्रचण्डलाई चुनौती दिँदै भ्रष्टचारको ट्रेलर मात्रै होइन, फिल्म हेर्न टिकट काटेर बसेको बताए । तर, रायमाझीलाई कारबाहीको दायरामा ल्याउनबारे बोलेनन् । बरु विगतमा भएका भ्रष्टाचारका काण्डको फाइल खोल्न सरकारलाई चुनौती दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी ६ दिनयता फरार छन् । यो समाचार तयार पार्दासम्म उनी कसैको सम्पर्कमा नभएको बताइएको छ । यद्यपि उनको खोजी कार्यका लागि प्रहरी प्रशासनले तीव्रता दिएको छ । तर, हालसम्म उसले भेटाउन भने सकेको छैन ।
उनका छोरा सन्दीप रायमाझी भने गत बधबार नै पक्राउ परिसकेका छन् । उनी बुटवलबाट पक्राउ परेका हुन् । बाबुछोराको नाममा पक्राउपूर्जी जारी भए लगत्तै छोरा पक्राउ परेका छन् भने बाबु फरार छन् ।
त्यस्तै सोही प्रकरणमा संलग्नलाई आज (मंगलबार) प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेको प्रहरीले जनाएको छ ।
यी दुवै जना शंखमुलबाट पक्राउ परेका हुन् । भोलि (बुधबार)देखि केसी र चौधरीमाथि अनुसन्धान हुने बताइएको छ ।