• बैशाख २७ २०८३, आईतवार

कोशी प्रदेशविरुद्ध आन्दोलन : सम्भावित घटनाको भयले एमाले बैठकको मिति र स्थान परिवर्तन

बैशाख २६ २०८०, मंगलवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले झापामा आयोजना गरेको केन्द्रीय कमिटीको बैठक अन्ततः काठमाडौंमा बस्ने भएको छ ।

पार्टी प्रचारप्रसार विभाग प्रमुख विष्णु रिजालले दिएको जानकारी अनुसार यसअघि अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा केन्द्रीय कमिटी बैठकको आयोजना गरिएको थियो । तथापि जिल्लाका नेताहरूको असन्तुष्टि र संघीय राजधानीमै बैठक बस्नुपर्ने माग राखेपछि काठमाडौंमा बैठक सारिएको छ ।

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार पार्टी केन्द्रीय कमिटी बैठक तोकिएको समयावधिमा बजेट अधिवेशन सञ्चालन भएकोले झापामा आयोजना गरिएको बैठक स्थगित भएको छ । अधिवेशन सञ्चालन भएको अवधिमा दोस्रो ठूलो दल एमाले जिल्ला बाहिर रहनु उचित नहुने भएकोले झापामा आयोजना गरिएको बैठक स्थगित गरिएको हो ।

‘संसदमा चलेको बजेट अधिवेशन तोकिएको भन्दा बढी समय लम्बिन सक्ने आकलन गरिएकोले केन्द्रीय कमिटीको बैठक झापाबाट काठमाडौं सागरिएको एमाले पूर्वसांसद तथा पार्टी पोलिटब्यूरो सदस्य महेश बस्नेत बताउँछन्,’ ‘बैठकका लागि देशैभरका केन्द्रीय कमिटीमा रहनुभएका कमरेडहरूले झन्डै चार÷पाँच दिन छुट्याउनु पर्ने र अधिवेशन प्रभावित हुने भएकोले बैठक अब काठमाडौंमै बस्छ ।’

‘यसपटक बजेट अधिवेशन लगायत जिल्लाका नेता कमरेडको असन्तुष्टिलाई मध्येनजर गर्दै बैठक काठमाडौंमा सारियो । यद्यपि सधैँ काठमाडौंमै बैठक बस्नैपर्छ भन्ने छैन । आगामी वर्ष राजधानी बाहिरका जिल्लामा बैठक हुनसक्छ,’ भन्छन्, –पार्टी केन्द्रीय कमिटी सदस्य रामेश्वर फुँयाल ।

उनका अनुसार एमाले केन्द्रीय कमिटी बैठक वर्षमा दुईपटक बस्छ । अन्य पार्टीको हकमा भन्दा एमालेको छुट्टै व्यवस्था छ । जसअनुसार बैठक ६÷६ महिनामा बस्छ । बैठकबाट पार्टीको महत्वपूर्ण निर्णय हुनुका साथै नेताहरूको पुनर्तजगी हुन्छ ।’

यद्यपि बैठक काठमाडौं सार्नुलाई एमालेका नेताहरूले बजेट अधिवेशनको निहुँ बनाए पनि सुरक्षा चुनौती भएको बुझिएको छ । यसअघि उसले चलाएको दुई महिने ग्रासरूट अभियान अन्तर्गत अध्यक्ष ओली गृहजिल्ला झापा जाँदै गर्दा बाटोमा उनीमाथि ढुंगा प्रहार भएको थियो ।

यसका साथै यतिबेला कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलन भइरहेको छ । ओलीका पछिल्ला अभिव्यक्तिलाई लिएर आन्दोलनकारी झन् आक्रोशित बनेका छन् । उनले एक कार्यक्रममा बोल्दै कोशी प्रदेशको नाम परिवर्तन नहुने बताएका थिए भने नाम परिवर्तन गर्न दुईतिहाइ बहुमत ल्याएर परिवर्तन गर्न चुनौती दिएका थिए ।

आन्दोलनकारीको आन्दोलनले बैठक प्रभावित हुनसक्ने सम्भावित भयले काठमाडौं सारिएको हुनसक्ने आकलन गरिएको छ । किनकी जिल्लाका अधिकांश नेताहरूले पनि ओलीलाई झापामा कार्यक्रम गर्न सहज नभएको बताएका थिए भने काठमाडौंमै बैठक गर्न आग्रह गरेको स्रोत बताउँछ ।

तर, उपमहासचिव रिमाल यसबारे प्रवाह राख्दैनन् । उनी भन्छन्, ‘आन्दोलनको भयले बैठक काठमाडौंमा सारिएको होइन । हामीलाई आन्दोलनसँग कुनै सरोकार पनि छैन र मतलव पनि भएन । यसअघि हामीलाई मधेसमा लखेटिँदा मधेसमै भव्य रुपले बैठक सम्पन्न गरेका थियौँ । त्यो आन्दोलन एमालेविरुद्ध पनि होइन । यसर्थ यसले बैठकलाई कुनै प्रभाव पार्दैन । तर, यतिबेला संसदमा बजेट अधिवेशन चलिरहेको बेला उपत्यका बाहिर बैठक गर्नु उचित नठानेरै यता सारिएको हो ।’

उता एमाले झापा अध्यक्ष दीपक कार्कीका अनुसार बैठकको तयारीका लागि जिल्ला कमिटीलाई जिम्मेवारी दिइएको थियो । त्यसका लागि सबै तयारी अन्तिम चरणमा पुगेको थियो । तर, अन्तिममा आएर बैठक स्थगित हुन पुग्यो ।

यसअघि एमाले केन्द्रीय कमिटी बैठक यहीँ वैशाख २९–३१ गतेसम्म झापाको दमकमा आयोजना गरिएको थियो । उताको कार्यक्रम स्थगित भएपछि बैठक २८–३० गते काठमाडौंस्थित केन्द्रीय कार्यालय च्यासल बस्नेछ ।

केन्द्रीय कमिटीको बैठक बस्नुअघि सचिवालय बैठक आज बस्दैछ । बैठकमा आगामी केन्द्रीय कमिटीमा प्रस्तुत गरिने विषय र छलफलका अजेन्डाका बारेमा निर्णय हुनेछ । सोही निर्णयपछि केन्द्रीय समितिको छलफलको अजेन्डा तय गरिने एमालेले बताएको छ ।