• असार ४ २०८२, बुधबार

लाठीचार्जका बीच सकियो माओवादी निकट दलित मोर्चाको राष्ट्रिय सम्मेलन

बैशाख २५ २०८०, सोमबार

२५ बैशाख, काठमाडौं । सत्तारुढ माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलनमा लाठिचार्ज भएको खुलासा भएको छ । काठमाडौंमा भएको सम्मेलनमा गतराति १२ बजे लाठीचार्ज भएको हो ।
सम्मेलनको बैशाख २३ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।

समाचार श्रोतका अनुसार सम्मेलनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वगृहमन्त्री जनार्दन शर्मा निकटका कार्यकर्ता सम्मेलनमा हावी हुँदा झडपको अवस्था आएको हो । गृहमन्त्री श्रेष्ठको निर्देशनमा भएको लाठीचार्जमा माओवादी केन्द्रकी नेतृ पार्वती विकको औंलो भाँचिएको छ । झडपमा दर्जनौं प्रतिनिधिहरु घाइते भएका छन् ।

माओवादीमा बलियो पकड जमाउँदै आएका उपमहासचिव वर्षमान पुन विरामी भएको मौका छोपेर रुकुममा दलितमाथि भएको नरसंहारलाई ढाकछोप गरेको आरोप लाग्दै आएका जनार्दन शर्मा पक्षीय कार्यकर्ताले सभामा हुलहुजज्जत गरेको स्रोतले जनायो ।

एक कार्यकर्ताले जनार्दन समूहका दलितका कार्यकर्ताहरु दलितका मुद्धामा संघर्ष गर्ने भन्दा पनि दलित मोर्चाका विभिन्न पदमा पुग्ने र राजकीय नियुक्ति खान हानथाप गर्ने समूह भएको आरोप लगाए ।

सम्मेलनबाट बलियो जनअधिकार र दलित आन्दोलन बुझेका जनयुद्धकालिन पाका नेता तथा २०६४ को संविधानसभा चुनावमा काभ्रेबाट अत्यधिक बहुमतले निर्वाचित तेजबहादुर मिजारलाई समेत ६० वर्षको उमेर हद राखेर पाखा लगाइएको छ ।

जनयुद्ध कालदेखि नै दलित आन्दोलनका जुझारु बौद्धिक र प्राज्ञिक युवा नेता डा.बुद्धि नेपाली ‘विराट’लाई पनि संगठनबाट विदा गरिएको छ । त्यसैगरि रुकुमको सोती घटनाको खरो प्रतिवाद गर्ने भेरी-कणर्ालीकै स्थापित दलित नेतृ पार्वती विकलाई त लाठीचार्ज नै गरेर घाइते बनाइएको छ ।

यसैबीच सम्मेलनले अध्यक्षमा पूर्वजनमुक्ति सेनाका कमाण्डर तथा पूर्व युवा तथा खेलकुद मन्त्री दलजित शेर्पाइली र महासचिवमा गृहमन्त्री नारायणकाजी समूहका शंकर दुलाललाई घोषणा गरिएको छ । शेर्पाइली जनार्दन समूहका हुन् ।

लाठीचार्जको बीचमै उनीहरुलाई ती पदको जिम्मेवारी तोकिएको हो । यसैगरी सम्मेलनले आठ जना उपाध्यक्ष, तीन जना उपमहासचिव र कोषाध्यक्ष एक र सचिव सात जना सहित १५१ जनाको केन्द्रीय समिति घोषणा गरेको छ ।