• असार ४ २०८२, बुधबार

भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री खाँणको दबाबमा २ जनालाई छोडेको पूर्व एआइजी शर्माको दाबी

बैशाख २५ २०८०, सोमबार

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका दुई जनालाई कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री हुँदा राजनीतिक दबाबमा छुटाइएको दाबी गरेका छन् । पूर्वएआइजी शर्माले यो प्रकरणबारे सामाजिक सञ्जाल टिकटकमा पनि त्यतिबेला के भएको थियो भनेर एउटा भिडिओ बनाएर पोष्ट गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने योजना बनाएको गिरोहले उनको सरकार ढलेपछि प्रहरीमा उजुरी गरेको उनको दाबी छ । उजुरी आएपछि प्रहरीको अपराध अनुसन्धान महाशाखाले दुईजना अभियुक्तलाई पक्राउ गरेको उनले बताएका छन् । त्यतिबेला खाँण गृहमन्त्री थिए ।
‘त्यतिबेला राजनीतिक दबाबमा ती दुई जनालाई छोडिएको थियो,’ शर्माले भनेका छन् । शर्मा २०७३ फागुनमा एआइजीबाट अवकाश भएका थिए ।

सानु भण्डारीले अहिले फरार रहनुभएका उपप्रधानमन्त्री (टोपबहादुर रायमाझी) लाई मामा भन्थ्यो । उहाँसँग नजिक भयो । (रायमाझीले) सहज गरिदिएको भन्नुहुन्थ्यो । सहजीकरण मात्र गरिदिएको भए अहिले किन फरार हुनुपर्थ्यो ? अगाडि आएर आफ्नो कुराहरू भनेको भए हुन्थ्यो । उहाँको छोरा उहाँसहित भएपछि आत्मबल बढ्यो अगाडि बढेको काम गर्न थाले ।

काम गर्न थालेपछि पैसा दिन सक्ने नक्कली शरणार्थी खोज्न थाले । पूर्वमा झापा, मोरङ, पश्चिममा दाङ, प्युठान, सल्यान, रूकुम, रोल्पा र गोरखामा मान्छे खोज्न थाले ।

यो बीचमा रामबहादुर थापा पनि गृहमन्त्री भए । इन्द्रजित राई थापाका सुरक्षा सल्लाहकार भए । राईसँगै रामबहादुर थापाका छोरा पनि त्यसमा संलग्न हुन थाले । पीडितहरुलाई फोटो देखाएर पनि आश्वस्त पार्न थालियो । त्यतिखेर बादलको छोरा र तत्कालिन उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा (दिपेश पुन)को मिलिभगतमा गृह प्रशासनमा नराम्रो हस्तक्षेप थियो भने कुरा सर्वविदितै छ । इन्द्रजित राई आएपछि गृह प्रशासन थप मिल्न थाल्यो ।

कति शरणार्थी छुटेको भन्ने पत्ता लगाउन त्यतिबेला सहसचिवको संयोजकत्वमा गठित कार्यदलका तीनजना गएका हुन् । ४२९ जना छुटेको नामावली उनीहरूले ल्याए । त्यसमै १२५ जना बिचौलियाहरूले थपेका पाइएको थियो ।

त्यसपछि एमालेको सरकार ढल्यो । शेरबहादुर देउवाको सरकार आएपछि हल्लीखल्ली भयो । पैसा पनि लिइसकेको थियो, केही पैसा पनि फिर्ता गरे । पैसा फिर्ता नहुनेहरू प्रहरीमा उजुरी लिएर गए । त्यतिखेर प्रहरीले दुई जनालाई समातेको थियो । पछि राजनीतिक दबाबमा छोडेको हो ।