• बैशाख २७ २०८३, आईतवार

आईजीपीका कारण पक्राउ पर्नबाट बचेका थिए टोपबहादुर रायमाझी

बैशाख २५ २०८०, सोमबार

काठमाडौं । नक्कली भुटानी शरणार्थीका नाममा नेपाली नागरिकलाई अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोगमा पूर्वउपप्रधानमन्त्री एवम् नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी गरे पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

अर्घाखाँचीबाट बुटवल झरेका रायमाझीलाई पक्राउ गर्न नजिकै पुगेको प्रहरी टोलीलाई आईजीपी वशन्त कुँवरले नफर्काएको भए यतिखेर उनी पक्राउ परिसकेका हुन्थे । उनीविरुद्ध पनि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो। आफूलाई पक्राउ गर्न लागेको रायमाझीले खबर पाए। त्यसलगतै उनले प्रहरी महानिरीक्षक वशन्त कुँवरलाई टेलिफोन गरे। आईजीपी कुँवरले नपक्रन भने ।

रायमाझीले कुँवरलाई विश्वास दिलाएर आफै प्रहरी कार्यालयमा उपस्थित हुन्छु भने पनि हालसम्म सम्पर्कमा छैनन् । त्यसअघि सार्वजनिक कार्यक्रममा समेत उनले पत्रकारसँग कुरा गर्दै आफूमाथिको आरोप अस्वीकार गरे र काठमाडौं गएर अनुसन्धानमा सहयोग गर्ने बताएका थिए।

रायमाझीले त्यसै साँझ ९ बजे सभामुख देवराज घिमिरेसँगै फर्किने गरी टिकट मिलाएका थिए। त्यसअघि नै काठमाडौं आउने टिकट काटेका उनले राति ९ बजेलाई सारेका थिए। त्यही फ्लाइटमा उनी काठमाडौं फर्किनेमा प्रहरी ढुक्क भयो।

तर रायमाझी अर्घाखाँचीबाट विमानस्थल आउँदै गर्दा उनका छोरा सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गर्यो। छोरो पक्राउ परे लगतै उनको मोबाइल बन्द भयो। रायमाझी फरार भए, सभामुखसँग काठमाडौं पनि आएनन्।

त्यसको भोलिपल्टसम्म पनि रायमाझी आफैं आउनेमा काठमाडौं परिसरका प्रहरीहरु आशावादी देखिन्थे। तर साँझसम्म पनि उनी उपस्थित भएनन्। त्यसपछि द्रुतगतिमा खोजतालास गरेको प्रहरीले फेला पार्न सकेको छैन।

शुक्रबार र शनिबार बिदा भएका कारण अदालतमा उपस्थित नगराउने भएकाले आइतबार उपस्थित हुन सक्छन् भन्ने प्रहरीको आकलन पनि फेल खायो। अहिले रायमाझी भगाएको आरोप प्रहरीलाई लाग्न थालेको छ। जसका कारण प्रहरीको आलोचना भइरहेको छ ।

करिव १० दिनपछि प्रहरीले यो मुद्दाको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने छ। वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ। त्यसअघि पक्राउ नपरे रायमाझी अब अदालतमा मुद्दा बुझाएपछि सिधै उपस्थित हुन सक्छन्।