काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन छन्। बुधबार गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौं जान्छु भनेर हिँडेका रायमाझी सम्पर्कविहिन भएसंगै प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ ।
सभामुख देवराज घिमिरेसँगै काठमाडौं आउन बुधबार साँझको प्लेन टिकट काटेका रायमाझीले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि टिकट रद्द गरेका थिए । जहाजको टिकट रद्द गरेर सडकमार्ग भएर काठमाडौं आउँदै गरेका रायमाझी बाटोबाटै सम्पर्कविहिन भएका हुन् ।
रायमाझीले प्रयोग गर्दै आएको प्रदे श–३–०१–०२२ च–०५८२ नम्बर गाडी बिहीबार दिउँसो चितवनबाट मुग्लिन हुँदै काठमाडौं आएको छ । तर रायमाझीलाई पक्राउ गर्न पिछा गरिरहेको प्रहरीले गाडीमा चालकलाई मात्रै फेला पारेको थियो ।
रायमाझीले बिहीबार बिहान काठमाडौं प्रहरीलाई सम्पर्क गरी आफू गिरफ्तारी दिन काठमाडौं आइरहेको सन्देश फोनमा सुनाएका थिए । काठमाडौं पुग्ने जानकारी दिएका रायमाझी सम्पर्कविहीन भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।