• बैशाख २७ २०८३, आईतवार

‘राष्ट्रपति ज्यू आफ्नो उपचार खर्च आफै व्यहोर्छु भन्नुस्’ : गगन थापा

बैशाख १८ २०८०, सोमबार

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैले व्यहोर्नुपर्ने बताएका छन् । सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैले आफ्नो उपचार खर्च व्यहोर्नुपर्ने बताए ।

भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्केका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने उनले बताए । महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफै उपचार गर्नुपर्ने विभेद हुन नहुने बताए ।

उनले भने, ‘हामीले संसदबाट एउटा कानून बनायौं । गणतन्त्र भनेको दुई खालको नागरिकहरू हुँदैन भन्यौं । सबै समान हुन्छ भन्यौं । त्यसैले गणतन्त्र नेपालमा हेर्दा सानो कुरा देखिन्छ । नेपालको राष्ट्राध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे भनौं न अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाट, जनताले तिरेको करबाट बाहिर लगेर हामीले उपचार गर्ने । अनि उसको उपचार खर्च जनताले व्यहोर्नुपर्ने अथवा राज्यकोषले व्यहोर्नुपर्ने तर नागरिक चाहिँ अस्पतालमा उपचार गर्दागर्दै उपचारको पैसा तिर्न नसकेर कोही हाम फाल्नुपर्ने । अस्पतालमा गए बन्धक बन्नुपर्ने यो गलत । यो गर्न पाइँदैन । यो गर्न पाइँदैन भनेर संसदमा हामीले कानून बनाएका छौँ । त्यो कानूनलाई संशोधन गर्ने प्रस्तावकमध्येको एक म हुँ ।’

उनले राष्ट्रपति पौडेललाई उपचार खर्च आफै व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रह समेत गरे ।