• मंसिर ११ २०८१, मंगलवार

नयाँ पार्टीको अध्यक्षको हैसियतमा वैद्यले भने,‘सिंहरुपी ठूला दलहरु विरामी परेकोले स्यालरुपी रविहरु उदाएका हुन्’

बैशाख १८ २०८०, सोमबार

काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबीच पार्टी एकता भएको छ ।

१३४औं अन्तराष्ट्रिय मजदूर दिवसको अवसर पारेर आज काठमाडौंमा भएको एकता घोषणा सभाबाट मोहन वैद्य नवगठित पार्टीको अध्यक्ष र प्रवक्तामा धर्मेन्द्र बास्तोला चयन भएको जानकारी गराइयो ।

नवगठित पार्टीको नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल राखिएको छ । घोषणा सभालाई सम्वोधन गर्दै अध्यक्ष वैद्यले संसदीय व्यवस्था अवसरवादीहरुको व्यवस्था भएकोले यो व्यवस्थाबाट देश र जनताले मुक्ति नपाउने भएकोले नै आफ्नो पार्टीले वैज्ञानिक समाजवादी व्यवस्थाको लागि संघर्ष गर्ने बताए ।

वैद्यले देश चरम संकटमा पर्दा पनि शासकहरु चुप लागेर बस्नुले यो व्यवस्था असफल भएको पुष्टि भएको बताए । वैद्यले रवि लामिछानेप्रति लक्षित गर्दै बुढाले सकेनन् अब युवाले गर्ने हो भन्ने हल्ला गरेर साम्राज्यवादले नयाँ दलालहरुलाई प्रयोग गर्न खोजेको बताए ।

ठूला भनिएका दलहरु र रवि लामिछानेहरुलाई इंगित गर्दै ‘सिंह विरामी भयो भने स्यालको रजाई हुन्छ’ भने झैं ठूला भनिएका दलहरु विरामी परेकोले रविहरु उदाएको उनको तर्क रहेको । स्यालहरुको उदयले ठूला पार्टीहरुको मनमा ढ्याङ्ग्रो बजेको उनको धारणा रहेको छ ।

वैद्यले अबको क्रान्तिको जिम्मेवारी आफ्नो पार्टीले लिने र त्यसको भारी बोक्न आफू तयार रहेको बताए । अर्का वक्ता तथा सो पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले प्रचण्ड र बाबुरामतिर लक्षित गर्दै ‘मुर्दालाई स्वर्गमा बास होस्’ भनेजस्तो तरिकाले क्रान्ति नहुने भन्दै नेपाली समाजमा रहेका फोहोरहरुको सफाई अब आफ्नो पार्टीले गर्ने ठोकुवा गरे ।

बास्तोलाले क्रान्ति बुढाले गर्दैनन् त्यसैले युवाले गर्ने हो भन्ने सोंच गलत भएको भन्दै क्रान्ति मानिस बुढो भएकोले नहुने होइन बरु क्रान्ति दृष्टिकोणले गर्ने काम भएको बताए ।

सभाको अध्यक्षता सिपी गजुरेलले गरेका थिए भने स्वागत मन्तव्य रामसिंह श्रीषले गरेको थिए । सभामा असारे काका, कमल चौधरी, दिनेश शर्मा, विनोद थापा, चिन्तामणि पौडेल, दीपक चलाउने, परी थापा, सिताराम तामाङ, गुणराज लोहनी, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल र कृष्ण धमला र बाबुराम गजमेर लगायतका दर्जनौं नेताहरु उपस्थित थिए भने सहभागीहरुको उपस्थितिले हल खचाखच भरिएको थियो ।

खुलामञ्चमा गर्ने भनिएको सभा मौसमी प्रतिकुलताका कारण पाटी प्यालेसमा गरिएको हो । घोषणा गरिएको पार्टीको २८७ जना रहेको महाधिवेशन आयोजक समिति रहनेछ भने १५ जनाको सचिवालय रहनेछ ।

कार्यक्रमको सञ्चालन हेमन्तप्रकाश वलीले गरेका थिए । कार्यक्रममा सामना साँस्कृतिक परिवारका कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।