काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दैछ । केन्द्रीय समितिको बैठक पार्टी कार्यालय बसुन्धरामा बिहान ११ बजेलाई तय गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले सञ्चारमाध्यमलाई जानकारी दिए ।
‘मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको समीक्षा आदि विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको हो, थप कार्यसूची भने तह हुन बाँकी छ,’उनले भने । बैठकमा उपनिर्वाचनको समीक्षा, संगठन विस्तार र परिचालन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
विशेषतः आजको बैठक सरकारमाथिको समर्थनमा केन्द्रित रहने केन्द्रीय सदस्यहरूको भनाइ छ । सरकार गठनको ४ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूणर्ता नपाएको र यसबीचमा सरकारले जनआकांक्षा सम्बोधन गर्नेगरी सरकार अघि नबढेकाले समर्थन कायम राखिरहनु औचित्यपूणर् नहुने पदाधिकारीसहित केही सदस्यको मत छ ।
केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता पनि गरेका छन् । भेटमा प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । जवाफमा सभापति लामिछानेले पुराना मन्त्रालयबारे सोधेको बताएका थिए ।
‘हामीले सरकारमा जान चासो राखेका छैनौं । तपाईंले भनेपछि हामी छलफल गरौंला तर अलि समय हेर्छौं भनेर भनेको छु,’ भेटपछि लामिछानेले भनेका थिए, ‘भर्खरै चुनावबाट आएका छौं, सरकारमा हाम्रो पोर्टफोलियो के हो त भनेर सोध्ने कुरा स्वभाविक भयो । हाम्रो पुरानो मन्त्रालय के हुन्छ? भनेर सोध्ने कुरा भइहाल्यो ।’
यसैबीच सो पार्टीको संसदीय दलको बैठक पनि आजै दिउँसो तीन बजेलाई बोलाइएको छ । घडीघर, बसुन्धारामै बस्ने बैठकले संसद्को हिउँदे अधिवेशनको समीक्षा गर्ने छ । त्यस्तै पार्टीका सांसदहरूले संसद्मा खेलेको भूमिको पनि छलफल गर्ने बताइएको छ ।