दाङ । रोल्पामा यात्रुबाहक जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी थप नौजना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको डिएसपी श्याम सरूमगरले जानकारी दिए ।
उनका अनुसार गंगादेव गाउँपालिका वडा नम्बर २ ओइलामका १५ वर्षीय तिलक वलीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका घाइतेमध्ये सोही ठाउँका ६० वर्षीय कलबहादुर वली र ५० वर्षीया महिमा वलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । घाइतेहरूलाई उपचारका निम्ति दाङको तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा पठाइएको छ ।
आइतबार बेलुकी सवा ४ बजेतिर गंगादेव-२ हेलुमखोलामा लु१ज ४७५५ नम्बरको यात्रुवाहक जिप दुर्घटनामा परेको थियो । दाङको तुलसीपुरदेखि गंगादेव – ७ ताफ्नातर्फ जाँदै गरेको जिपको एकाएक ब्रेक फेल भएर २५० मिटरदेखि ३०० मिटर हाराहारी तल खसेको प्रहरीले जनाएको छ ।