• जेष्ठ १३ २०८३, बुधबार

महावीरको आन्दोलनलाई समर्थन जनाउँदै देशभरबाट प्रदर्शन सुरु

बैशाख १७ २०८०, आईतवार

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौँको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै देशभरबाट ऐक्यबद्धता जनाउन सुरु भएको छ।प्ले कार्डसहित स्वतःस्फूर्त रूपमा क्रमशः सडकमा प्रदर्शनकारी आउन थालेका हुन् ।

शनिबार साँझ पथलैया र सिमराका युवाले पुनको आन्दोलनलाई समर्थन जनाउँदै महेन्द्र राजमार्गको सडक खण्डमा प्रदर्शन गरे भने नेपालगञ्जस्थित त्रिभुवन चौकमा पनि स्वस्फुर्तरुपमा प्रदर्शन भएको छ।

‘इलाम, सिमरा, चितवन, नेपालगन्ज र पोखरामा पनि अनुसन्धान, नवप्रवर्तन र आविष्कारको जनआन्दोलनको समर्थनमा आन्दोलन गरिरहेको समाचार आएको छ,’ पुनले आफ्नो आन्दोलनको समर्थनमा भएका प्रदर्शनबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, ‘इच्छा हुनेहरूले जहाँ र जे जसरी पनि आन्दोलन गरे हुन्छ ।’

पथलैया र सिमरामा प्लेकार्डसहित प्रदर्शन गर्दै प्रदर्शनकारीहरुले महावीर पुनले उठाएका मागलाई सरकारले तत्कालै सम्बोधन गर्न सरकारलाई दबाब दिएका छन्।  सिमराका युवाहरूले भने दैनिक एक घण्टा सिमराको चोकमा प्रदर्शन गर्ने जनाएका छन्।