• जेष्ठ १३ २०८३, बुधबार

गोरखाका सुकबहादुर चेपाङले ७२ वर्षको उमेरमा पाए नागरिकता

बैशाख १६ २०८०, शनिबार

काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्वर १ मकैसिंका सुकबहादुर चेपाङले ७२ वर्षको उमेरमा नागरिकता पाएका छन् । वडा कार्यालयबाट भएको सिफारिस लगायतका कागजातका आधारमा जिल्ला प्रशासन कार्यालयले शुक्रवार उनलाई नागरिकता प्रदान गरेको हो ।

नागरिकतामा जन्ममिति २००८ साल असार १० गते उल्लेख गरिएको छ । ‘बल हुँदासम्म चितवनका विभिन्न ठाउँमा अरुकै घरमा काम गरेर बस्यो, अब बृद्धावस्थामा सहाराको खोजी गर्दै गाउँ फर्केपछि भत्ताको पनि कुरा आयो’ वडा सदस्य कमानसिं प्रजाले भने, ‘बुवा, आमा, श्रीमती, छोराछोरी कोही पनि छैनन् त्यही भएर पनि उतिबेला नागरिकताको चासो भएन, अहिले भत्ताकै लागि नागरिकता चाहिने भयो ।’

वंशजको आधारमा नागरिकता प्राप्त गर्नका लागि आवश्यक पर्ने बलियो कागजात जुटाउन समय लाग्दा यसअघि ३ पटकसम्म प्रशासन कार्यालय पुगेर फर्किनु परेको वडा सदस्य कमानसिंले बताए ।