• मंसिर १२ २०८१, बुधबार

चन्दा जुटाएर खेलमैदान निर्माण

बैशाख १६ २०८०, शनिबार

काठमाडौ. । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा सरकारी निकायको अनुदानको तुलनामा दोब्बर चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गरिएको छ ।

घराम्दीको पेरी भारानी युवा क्लबले चन्दा सङ्कलन र दाताको सहयोग जुटाएर भलिबल र बास्केटबल खेल सञ्चालन गर्न मिल्ने व्यवस्थित खेल मैदान बनाएका हुन् । क्लबका अध्यक्ष अमृत गर्बुजाले गाउँपालिकाबाट रु १४ लाख ३० हजार अनुदान प्राप्त भएको जानकारी दिए । खेलमैदान बनाउन समुदायस्तरबाट रु ३४ लाख ७७ हजार सहयोग जुटेको छ ।

“खेतबारी र घरको आगँनमा खेलको अभ्यास गर्नुपर्ने समस्या हटाउन खेलमैदान बनाएका हौँ”, उनले भने, “गाउँपालिकाले दिएको अनुदानभन्दा बढी चन्दा र श्रमदान जुटेको छ ।” खेलमैदान निर्माण भएपछि भलिबल, बास्केटललगायत खेलको अभ्यास, फुर्सदको समय सदुपयोग र प्रतियोगिता तथा सभासमारोह आयोजना गर्न सहज भएको स्थानीय नवीन फगामीले बताए ।

घराम्दी घर भई हाल बेलायत बस्ने होमबहादुर फगामीले रु चार लाख ५० हजारमा किनेर क्लबलाई उपलब्ध गराएको चार रोपनी जग्गामा ३० मिटर लम्बाइ र १७ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको हो । रासस