• बैशाख २७ २०८३, आईतवार

सभामुखले एमाले सांसद कोइरी विरामी विदामा गएको भनेपछि संसदमा खैलाबैला

बैशाख १५ २०८०, शुक्रबार

काठमाडौं । प्रतिनिधि सभा बैठकमा हत्या आरोप लागेर फरार रहेका सांसद लक्ष्मी महतोको विषयलाई लिएर विवाद भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले यो अधिवेशनभर संसद्मा अनुपस्थित भएका सांसदहरूको नाम सुनाएका थिए ।

एमाले सांसद कोइरी बिरामी रहेका कारण बैठकमा उपस्थित नभएको सूचना सुनाएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विरोध जनाएका थिए ।

सांसद खतिवडाले विरोध जनाएसँगै कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका सांसदहरू उठेर विरोध जनाए । सांसदहरूले विरोध जारी राखेपछि नेपाली कांग्रेसका सांसद रमेश लेखकलाई सभामुखले बोल्न समय दिए ।

सांसद लेखकले सांसद कोइरी लामो समयदेखि प्रतिनिधि सभाको बैठकमा नआएको कुरा स्पष्ट रहेको बताए । उनले फौजदारी अभियुक्त भएको र अदालतले उनलाई थुनामा पठाउन आदेश दिएको, प्रहरीले खोजिरहेको र भेटिएमा पुर्पक्षमा लागि थुनामा जानुपर्ने अवस्थामा रहेको बताए । यस्तो अवस्थामा रहेको मान्छेलाई बिरामी बिदामा रहेको भनेर सभामुखबाट प्रस्तावित हुन जग हँसाइरहेको बताए ।

उनले भने-‘एउटा सदन, प्रतिनिधि सभा देशका सार्वभौम जनताका प्रतिनिधिहरू बसेर एकजना फरार अभियुक्तलाई बिरामी छ भनेर निणर्य गरेर घर गए भन्छ सभामुख महोदय । त्यसकारण यो गम्भीर प्रश्न छ, यसबारेमा सरकार पक्ष, प्रतिपक्ष कुनै पक्षका रूपमा हैन, अरू जे जे मन लाग्छ गर्दा हुन्छ कमसेकम उहाँ बिरामी हुनुहुन्छ भन्ने कुरा रेकर्डबाट हटाइयोस् ।’

उनले प्रहरीले खोज्दा नभेटेको व्यक्तिलाई नेपालको सरकारले बिरामी प्रमाणित गरेर अस्पताल भर्ना गरेर उनलाई उन्मुक्ति दियो भन्दैन भन्दै प्रश्न गरे । उनले यो विषयमा दूरगामी असर के पर्छ भन्ने बारेमा सोच्न आग्रह गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू गृहमन्त्री भएका फरार सांसद कोइरीको विषय पेचिलो बनेको बताउँदै फरार अभियुक्तलाई बिरामी करार गरेर नराखोस् भन्ने आग्रह गरे ।

उनले कोइरी भारतमा फरार रहेको फोटो देखाउँदै पक्राउ गर्नका लागि आग्रह गरे । यस्तै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी, नेमकिपाका सांसद प्रेम सुवालले अपराधमा संलग्न भएको व्यक्ति कसरी बिरामी बिदा लिएर बस्न सक्छ ? भन्दै कारबाही गर्नका लागि माग गरे ।

सांसदहरूले सभामुखले फरार सांसद कोइरीको बारेमा बिरामी बिदा लिएको विषय संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विरोध जनाइरहे । त्यसपछि सभामुख घिमिरेले आधा घण्टाका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।