काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम खाने खुम्ले कीरा मन्त्रीहरू नै रहेको बताएका छन् । निगमको वार्षिक समीक्षा बैठकमा सम्बोधन गर्दै मन्त्री किरातीले निगमको कार्यकारीदेखि विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने गरेको भन्दै यस्तो बताएका हुन् ।
‘म मन्त्री भएको सय दिन भयो । यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो । वायुसेवा निगमलाई यो अवस्थामा पुर्याउन मन्त्रीहरूको ठूलो हात रहेछ । निगम खाने खुम्ले कीरा मन्त्रीहरू नै रहेछन् । यति भन्दैमा फेरि निगमका कर्मचारीहरू चाहिँ चोखो छन् भन्ने होइन । नागरिक उड्डयनको तालुकदार मन्त्रीले लाख होइन करोडमा पैसा उठाएपछि ती कर्मचारीले व्यावसायिक कार्ययोजना होइन, पैसा असुल्ने कार्ययोजना बनाउँछन्,’ उनले भने ।
निगमलाई सुधार्न जस्तो सुकै जोखिम मोल्न तयार रहेको भन्दै आफूलाई कुनै पनि दबाब र प्रभावले फरक नपर्ने समेत मन्त्री किरातीले बताए । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई काम गर्न नसके छाडेर जान समेत उनले निर्देशन दिए ।
‘तपाईंलाई यो काम गर्ने अवसर हो । अब तपाईंलाई कारबाही गर्छु । तपाईंले क-कसलाई कारबाही गर्ने हो गर्नुस्,’ उनले आक्रोशित हुँदै भने, ‘यदि काम गर्न सक्नुभएन भने सल्लाह गरेर नै छाडेर जानुस् । बिदाइ गर्नेछौं ।’ मन्त्री किरातीले निगमका बोर्ड सदस्यलाई समेत भन्न बाँकी राखेनन् । उनले बोर्डका सदस्यहरू सुविधाका लागि होडबाजी गर्छन् भन्ने आफूले सुनेको बताए ।
‘निगम सुधार्छु भनेर राजनीतिक नियुक्ति खाने अनि सुविधाका लागि मरिमेट्ने हो भने उमेर हुनेले जागिर खाँदा भयो, होइन भने पैसा कमाउन व्यापार गरे हुन्छ । सुविधाका लागि झगडा गर्ने बोर्ड सदस्यहरूलाई अब बाँकी राखिन्न,’ उनले भने ।
मन्त्री किरातीले आफू यो युगको परीक्षामा रहेको पनि बताए । यसमा सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
‘अब वायुसेवा निगमलाई पुरानो अवस्थामा ल्याउनुपर्छ । निगमका कर्मचारीसँग जो कोही विवाह गर्न तयार होस् । घडी हेरेर प्लेन होइन, निगमको जहाज हेरेर मानिसहरू आफ्नो घडी मिलाऊन्,’ मन्त्री किरातीले भने ।