• बैशाख २७ २०८३, आईतवार

उपनिर्वाचनको परिणाम हेरेर कांग्रेस सच्चिनुपर्छ : नेता कोइराला

बैशाख १२ २०८०, मंगलवार

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहना अनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताए ।

उनले युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको उल्लेख गरे । ‘उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी छ । अब युवाहरूलाई अवसर दिँदै जिल्लादेखि स्थानीय तह हुँदै वडा र टोलसम्म संगठन गर्नुपर्ने देखिएको छ,’ कोइरालाले भने, ‘मतदाता र युवाको मनोविज्ञान बुझ्न नसक्दा अहिलेको अवस्था आएको हो । अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्नै पर्छ ।’

नेता कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुने बताए । उनले हारको दोष एक जनामाथि थोपरेर अरू उम्किने अवस्था नरहेको उल्लेख गरे । उनले भने, ‘हारको जिम्मेवारी सबैले लिनुपर्छ ।’ नेता कोइरालाले प्राप्त जनमतलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको प्रस्ट पारे । त्यस्तै फरक प्रसंगमा नेता कोइरालाले देशको अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको बताए ।

कोइरालाले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । ‘संसदीय दलको मिटिङमा अर्थमन्त्रीको कुरा सुन्दा देशको अर्थतन्त्र निकै जटिल अवस्थामा छ,’ उनले थपे, ‘तर पनि उहाँले सुधारका लागि सबै किसिमका उपायहरू लगाइरहनु भएको छ ।’ नेता कोइरालाले आर्थिक रूपमा नेपाल श्रीलङ्काको बाटोमा अहिले नै नगएको प्रस्ट पारे । तर बेलैमा बुद्धि पुर्याएर अर्थतन्त्र सुधारका लागि लाग्नु जरुरी रहेको उनले औँल्याए ।