काठमाडौं । लामो समय संघर्ष र बलिदानबाट स्थापित दलहरूलाई चुनौती दिँदै रास्वपा र जनमत पार्टी उदाएका छन् ।
जसमध्ये जनमतले गत वर्ष सम्पन्न संघीय, प्रदेश र स्थानीय तह निर्वाचनमा भाग लिएको थियो । उसले यी सबै निर्वाचनमा अपेक्षा गरेभन्दा राम्रो परिणाम ल्याउन सफल भयो ।
यद्यपि संघीय संसदमा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त रावत (सिके)ले मात्रै प्रतिनिधित्व गरेका छन् । किनकि संघीय निर्वाचनमा जनमतबाट सिके रावत बाहेक अन्य उम्मेदवार निर्वाचित हुन सकेनन् ।
यसर्थ उनले मात्रै संसदमा प्रतिनिधित्व गरेका छन् । त्यस्तै समानुपातिकतर्फ जनमतका पाँच जना सांसदले प्रतिनिधित्व गर्दै आएका छन् ।
आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन सम्पन्न भएको छ । यो समाचार तयार पार्दै गर्दा सबै निर्वाचन क्षेत्रको मतगणना जारी छ । जसअन्तर्गत बारा–२ मा यसअघि जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भइसकेका छन् । उनी उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यस निर्वाचन क्षेत्र रिक्त थियो ।
रिक्त निर्वाचन क्षेत्र बारा–२ मा एमाले, रास्वपा, जसपा र जनमत पार्टीका उम्मेदवार प्रतिस्पर्धामा छन् । यद्यपि यस क्षेत्रमा जसपाका उम्मेदवार उपेन्द्र यादव र जनमतका शिवचन्द्र कुशवाहाबीच भारी प्रतिस्पर्धामा भइरहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार जसपाका उपेन्द्र यादवले ३ हजार २१४ मत प्राप्त गरि अग्रता कायम गरेका छन् । उनका निकटम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २ हजार ८१३ मत प्राप्त गरेका छन् । यो मतपरिणाम अनुसार कुशवाहा अहिले पछाडि परेका छन् ।
तेस्रो स्थानमा भने एमालेका पुरूषोत्तम पौडेल छन् । उनले एक हजार ३३५ मत पाएका छन् । रास्वपाका रमेश खरेलले ६४१ मत पाएका छन् ।
तर, जनमतले भने आफ्नो कोर एरियाको मतपरिणाम आउन अझैँ बाँकी रहेकोले अहिले नै भन्न नकिने बताएको छ । उसले आफ्ना उम्मेदवार कुशवाह निर्वाचित भएरै छोड्ने दाबी गर्दै आएको छ ।
त्यस्तै रास्वपाले संघीय निर्वाचनमा भाग लिएको थियो । जसअन्तर्गत उसले १९ सिटमा जित हात पारेको थियो । उसकाका समानुपातिकतर्फ १३ जना सांसदले प्रतिनिधित्व गरेका छन् । संघीय संसदमा जम्मा ३२ जनाको प्रतिनिधित्व थियो । अहिले ३० जना सांसदले मात्रै प्रतिनिधित्व गरिरहेका छन् ।
पार्टी सभापति रवि लामिछाने नागरिकता विवादमा परेपछि उनले सांसद, उपप्रधान तथा गृहमन्त्री पदसमेत गुमेको थियो भने एक जना सांसद दुई करोड अडियो प्रकरणले कारबाही प्रक्रियामा छन् । तर, रास्वपाले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही भने गरिसकेको छ ।
तर, रास्वपाले प्रदेश सभाको निर्वाचनमा भाग लिन चाहेन भने स्थानीय तहको निर्वाचन ताका पार्टी नै गठन भएको थिएन ।
चितवन–२ बाट निर्वाचित रविले नागरिकता विवादकै कारण सबै पद गुमाएपछि पुनः यस क्षेत्रमा निर्वाचन भएको छ । यस निर्वाचन क्षेत्रमा उनी पुनः उम्मेदवार बनेका छन् । गत निर्वाचनमा रविले सबैभन्दा बढी मत प्राप्त गरि विजयी भएका थिए ।
आइतबार भएको उपनिर्वाचनबाट पनि उनी निर्वाचित हुने निश्चित जस्तै देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार उनले आफ्ना प्रायः सबै प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पछि पारेका छन् ।
यस क्षेत्रमा अहिलेसम्म १२ हजार ५८६ मतगणना हुँदा रविले ६ हजार ५६८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका रामप्रसाद न्यौपानेले २ हजार ८६१ र कांग्रेसका जितनारायण श्रेष्ठले २ हजार ६८८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी तनहुँ–१ मा पनि उपनिर्वाचन भएको छ । यस क्षेत्रबाट यसअघि कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपतिमा निर्वाचित भएसँगै यस क्षेत्रमा पनि पुनः निर्वाचन भएको छ ।
तनहुँ–१ मा कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारले उपनिर्वाचनमा भाग लिएका थिए । तर, यतिबेला कांग्रेस र रास्वपाका उम्मेदवारबीच कडा टक्कर छ ।
रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले १० हजारको मतान्तर अग्रता कायम राखेका छन् । वाग्लेले २२ हजार ८२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ६४२ मत प्राप्त गरेका छन् ।
एमालेका सर्वेन्द्र खनालले ६ हजार ४५८ मत प्राप्त गरि तेस्रो स्थानमा छन् । यद्यपि हालसम्म तीनवटा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम भने आइसकेको छैन । तर, मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार भोलिसम्म सबै मतपरिणाम सार्वजनिक भइसक्ने बताएको छ ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार जनमतलाई आकलन गर्ने हो भने छोटो समयमा रास्वपा र जनमतले गुणात्मक फट्को मारेका छन् । उपनिर्वाचनमा उनीहरूले मत पाउने आकलन गर्न सकिन्छ । यसअघिका निर्वाचनले पनि यहीँ संकेत गरेका छन् । यसर्थ यो पटक पनि यी दुवै दलले संघीय संसदमा सिट संख्या थप्ने सम्भावना नजिक छ ।