• बैशाख २७ २०८३, आईतवार

उपनिर्वाचनमा चितवनका दुई केन्द्रमा मतदान स्थगित

बैशाख १० २०८०, आईतवार

काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि जारी निर्वाचनमा चितवनमा दुई मतदान केन्द्रको मतदान स्थगित भएको छ। चितवनको भरतपुर-११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यमिक विद्यालय र भरतपुर-७ को कृष्णपुर मावि मतदान केन्द्रमा मतदान रोकिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र अन्य दलका कार्यकर्ताबीच झडप भएपछि दुवै केन्द्रको मतदान प्रभावित भएको हो।

रास्वपाका सभापति लामिछाने नयाँ किरण कमल कुसुम माध्यमिक विद्यालयमा मतदानका क्रममा अवलोकन गर्न आएपछि रविका समर्थकहरूले नाराबाजी गरेका थिए। मतदानका क्रममा नाराबाजी गर्नु आचारसंहिता विपरित रहेको भन्दै कांग्रेस र नेकपा एमालेका कार्यकर्ताले बताएपछि विवाद सृजना भएको थियो। त्‍यसपछि एकघन्टा मतदान स्थगित भएको थियो।

उनीहरुले रास्वपाका कार्यकर्ताले मतदान कार्य प्रभावित पारेको भन्दै माफी माग्नुपर्ने अडान लिएका छन्। माफी नमागेसम्म मतदान कार्य अघि नबढाउने उनीहरूले अडान लिएका छन्।

सर्वदलीय बैठक बसेर मतदान सञ्चालन गर्ने तयारी भइरहेका बेला कांग्रेस र नेकपा एमालेले प्रतिनिधि बस्न मानेनन्। प्रतिनिधिबिना मतदान सञ्‍चालन गर्न खोज्दा कांग्रेस र एमालेले अवरोध गरेपछि अहिले मतदान रोकिएको हो।

यस्तै, भरतपुर -७ को कृष्णपुर मावि मतदान केन्द्रमा पनि मतदान स्थगित भएको छ। रवि लामिछानेले भीड जम्मा गरेर मतदानस्थल आएको भन्दै अन्य दलका कार्यकर्ताले अवरोध जनाएका छन्। मतदाताहरूले भने मतदान प्रक्रिया चाँडो गर्न नाराबाजी गरिरहेका छन्।