काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ध्वस्त बनाएको बताएका छन् ।
कम्युनिष्ट पार्टी एकता र एकीकरणको माध्यमबाट दुई तिहाईको अवस्थामा पुगेपनि प्रचण्ड र माधव नेपालहरू सस्तोमा बिकेका कारणले ध्वस्त बनाएको आरोप लगाए ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उनीहरू कतिमा बिके भन्ने कुरा बाहिरबाट नदेखिएको र भित्री कुरा आफूहरूले नबुझेको समेत बताए ।
‘कुनै पनि कम्युनिष्टहरू हाम्रै पार्टीबाट गएका हुन है । प्रचण्ड कहाँबाट गएका ? यही कम्युनिष्ट पार्टीबाट ऐझेरू पलाएझैं पलाएको त हो नि । २००६ सालमा कहाँ दुई, तीन वटा पार्टी बनेको थियो र । यो पार्टी त पछिसम्म एउटै थियो,’ उनले भने, ‘दुई तिहाई पुर्यायौं हामीले पार्टी विस्तार गरेर, निर्माण गरेर । पार्टी एकता र एकीकरण गरेर । तर टुप्पामा बस्ने नेताहरूलाई सही सक्नु भएन । र, उनीहरू बिके । यत्तिकै उनीहरूले भोलेन्टरिइली कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला ।’