• जेष्ठ १३ २०८३, बुधबार

काठमाडौंको फोहोर व्यवस्थापन हुने पालिकाले भने- १५ दिनभित्र माग पूरा होस्

बैशाख ७ २०८०, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिका लगायत १८ पालिकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटको ककनी गाउँपालिका तथा धादिङको धुनिवेशी नगरपालिकाले स्थानीयसँग गरिएको सहमतिअनुसार माग पुरा गर्न १५ दिनको अल्टिमेटम दिएका छन्।

बञ्चरे डाँडा र सिसडोल डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्ने सन्दर्भमा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका तथा धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका जनप्रतिनिधबीच २०७९ जेठ २३ गते सहमति भएको थियो। यस्तै,काठमाडौं महानगरपालिका र धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरुबीच २०७९ जेठ २६ अर्को छुट्टै सहमति भएको थियो।

१ वर्ष अगाडि भएको सहमतिका बुँदाहरुको कार्यान्वयन अहिलेसम्म नभएको भन्दै ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाले सहमति कार्यान्वयनका लागि १५ दिने अल्टिमेटम दिएका हुन्।

फोहोर मैला व्यवस्थापनका लागि वैज्ञानिक तथा प्राविधिक विज्ञ टोली गठन गरी न्यून प्रभाव पर्ने गरी व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने दुवै पालिकाले माग गरेका छन्।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिवेशी नगरपालिकाका प्रमुख वालकृष्ण आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा ककनी र धुनिवेशीका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर क्षेत्रको जग्गा अधिग्रहण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया तुरुन्त अगाडि बढाउनुपर्ने माग गरिएको छ।

फोहोर मैला व्यवस्थापनका क्रममा सिसडोलमा हालसम्म गरिएका वातावरणीय प्रभाव मूल्याङ्कन, कार्यान्वयनको अवस्था र कुन निकायबाट मूल्याङ्कन गरिएको हो सोको जानकारी गराउन पनि विज्ञप्तिमार्फत् माग गरिएको छ।

ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाका वडाहरुमा १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्न बजेट विनियोजन हुनुपर्ने पनि विज्ञप्तिमा माग गरिएको छ।

आफूहरुका माग १५ दिनभित्र पूरा नभए संघर्ष गर्न बाध्य हुने दुवै पालिका प्रमुखद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।