कास्की । पुष्पलाल ज्ञानशालाको आयोजनामा पोखराको मालेपाटनमा दुई दिने ‘सांस्कृतिक रुपान्तरण तथा नीति-निर्माणको प्रश्न’ विषयक संस्कृति विशेष कार्यशाला-२०८० सम्पन्न भएको छ । दुवै दिनको गोष्ठीका विभिन्न विषयवस्तुहरुमा प्रमुख प्रशिक्षकको रुपमा उपस्थित वरिष्ठ समालोचक तथा सांस्कृतिक चिन्तक निनु चापागाईंले प्रशिक्षण चलाउनुभएको थियो ।
बैशाख १ देखि २ गतेसम्म चलेको सो गोष्ठीको पहिलो दिन ‘संस्कृति के हो ?’, ‘आजको सांस्कृतिक यथार्थः भोगाइ र अनुभूतिहरु’, ‘आजको सांस्कृतिक यथार्थः संश्लेषण र विश्लेषण’ र ‘प्रभूत्वशाली संस्कृति एवं प्रतिरोधी संस्कृति’ शीर्षकमा तीनवटा सत्रहरु सञ्चालन भएका थिए ।
पहिलो दिनको कार्यक्रमको सुरुवात गर्दै प्रशिक्षक निनु चापागईंले संस्कृति एउटा व्यापक विषय भएको र यसको निर्माण समाजबाहिर हुननसक्ने कुरा बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संस्कृति निर्माणमा मानव श्रमको महत्वपूणर् भूमिका रहन्छ, लक्ष्यबद्ध सक्रियताले मात्र यो निर्माण हुन्छ, त्यही भएर पशुजगतबाट संस्कृति निर्माण संभव हुँदैन । साथै संस्कृति वर्गीय हुने, त्यो केबल आर्थिक स्वार्थहरुले मात्र जोडिने नभएर विपरित स्वार्थहरुले पनि जोडिएको हुन्छ । स्वार्थ बाझिने कुरा विचारसँग गएर जोडिन्छ । संस्कृतिको भूमिका स्वायत्त पनि हुन्छ, अधिरचनाले अधारलाई पनि प्रभाव पार्छ । संस्कृति मूर्त र अमूर्त दुबै हुन्छ । फरक खालका आवश्यकताहरुले फरक खालका संस्कृतिहरु निर्माणका प्रयत्नहरु हुन्छन् तर फेरि पनि बलियोले कम्जोरलाई दबाउछ र निषेध गर्छ । कसैको आदर्श राम छ तर कसैको आदर्श रावण पनि छन् । नायक र खलनायक पनि फरक हुन्छन् । भौतिक शासकीय बल नै वौद्धिक शासकीय बल पनि हुन्छ । जीवनका आवश्यकताहरु पूरा गर्न र समाज बदल्नका लागि संस्कृतिको ठूलो महत्व रहन्छ ।’
हामीकहाँ संस्कृतिलाई केबल चाडबाड, नाचगान र रीतिरिवाजहरुमा मात्र सीमित गर्ने समस्या रहेको भन्दै उहाँले मानिसको सर्वतोमुखी विकास गर्नु नै संस्कृतिको लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता पुष्पलाल ज्ञानशाला काठमाडौंका संयोजक ललितजन रावलले गर्नुभएको थियो भने सहजीकरण लेखक तथा प्रतिरोधः जनअधिकार आन्दोलनका अभियन्ता प्रमोद धितालले गर्नुभएको थियो ।
त्यसैगरी दोस्रो दिनको कार्यक्रममा ‘सांस्कृतिक क्रान्तिः सिद्धान्त र ऐतिहासिक विरासत’, ‘सांस्कृतिक रुपान्तरणः किन र कसरी ?’, ‘सांस्कृतिक रुपान्तरणका आजका समस्या’, ‘प्रगतिशील संस्कृतिकर्मी र राजनीतिकर्मीका लागि सांस्कृतिक संहिता कस्तो हुने ?’ शीर्षकहरुमाथि गोष्ठी सञ्चालन भएको थियो । दोस्रो दिनको कार्यक्रमको सुरुवात गर्दै प्रशिक्षक निनु चापागाईंले सांस्कृतिक क्रान्ति मूलतः विचारधारात्मक क्रान्ति भएको र जसबिना पूणर् समाजवाद लागू गर्न नसकिने बताउनुभयो ।
उहाँले अगाडि थप्नुभयो, ‘पूँजिवादी उपभोक्तावादी संस्कृतिको डरलाग्दो पक्ष व्यक्तिवाद हो । आफूलाई केन्द्रमा राखेर नीति निर्माण गर्ने प्रवृत्ति व्यापक छ । वामपंथीहरुले जितेका कुनै पनि स्थानीय तहहरुमा जनताको बिचमा लिएर जानका लागि नयाँ सांस्कृतिक नीति बनाएको देखिन्न। त्यसमाथि सबैभन्दा ठूलो समस्याको रुपमा वैचारिक अस्पष्टता रहेको छ ।’
दुबै दिनको कार्यक्रममा सहभागीहरुका तर्फबाट पनि उत्साहजनक रुपमा प्रश्नोत्तर तथा अन्तक्र्रिया भएको थियो । सांस्कृतिक आन्दोलनको क्षेत्रमा दक्षिणपंथी संशोधनवाद, अवसरवाद र उपाभोक्तावादी संस्कृतिको आक्रमण बढिरहेको अवस्थामा यो कार्यक्रमले संस्कृति र सांस्कृतिक आन्दोलनसम्बन्धि सही धारणा निर्माण र आफूसँगै समाजलाई बदल्ने प्रक्रियामा महत्वपूणर् योगदान गर्ने कुरा सहभागीहरुबाट व्यक्त भएको थियो ।
कार्यशालाको अन्तिम सत्रमा सहभागीहरुका बीचबाट सुझावहरु लिँदै सांस्कृतिक रुपान्तरणका क्षेत्रमा सक्रिय आन्दोलनकर्मीहरुकै बीचबाट सांस्कृतिक नीति निर्माण गर्ने गरी लेखक तथा अभियन्ता प्रमोद धितालको संयोजकत्वमा सांस्कृतिक नीति निर्माण कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले सांस्कृतिक अभियन्ता, राजनीतिक कार्यकर्ता तथा समर्थकहरुका लागि सही सांस्कृतिक नीति तथा आचारसंहिता निर्माणका गर्ने र त्यसलाई प्रकाशन समेत गर्ने निणर्य पनि गोष्ठीले गरेको छ । कार्यदलले तयार गरेको सांस्कृतिक नीतिको मस्यौदालाई कार्यशालाका सहभागी र विषयसँग सरोकार राख्ने पंक्तिबीच बहसमा लगेर अन्तिम रुप दिने तय गरिएको छ ।
दोस्रो दिनको कार्यक्रमको अध्यक्षता कवि कल्पना चिलुवालले गर्नुभएको थियो भने सहजीकरण ज्ञानशाला काठमाडौंका सदस्य शैलज पौडेलले गर्नुभएको थियो । कार्यक्रमको बिचमा सुसेला संगीत समूहका अञ्जानबाबु लगायतका साथीहरुले गीतहरु प्रस्तुत गर्नुभएको थियो, त्यसैगरी कविहरु कल्पना चिलुवाल, विष्णु अधिकारीले कविता वाचन गरेर कार्यक्रमलाई थप उत्साजनक बनाउनुभएको थियो ।
सो कार्यक्रममा दाङ, चितवन, काठमाडौं, ललितपुर, गुल्मी, म्याग्दी, पोखरा, पर्वत, तनहुँबाट दुई दर्जन सांस्कृतिक तथा राजनीतिक आन्दोलनमा क्रियाशील अगुवा कार्यकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रम समापनपूर्व सहभागीहरुका तर्फबाट चितवनबाट सहभागी कपिल अधिकारी, दाङबाट सहभागी रीता सुवेदी, पोखराबाट सीर्जना ढकाल, काठमाडौंबाट सहभागी विष्णु अधिकारीले आ-आफ्ना अनुभूतिहरु राख्नुभएको थियो ।