• मंसिर ११ २०८१, मंगलवार

मिटरब्याज पीडितको धर्नामा भएको प्रहरी दमनको क्रान्तिकारी मोर्चाद्वारा निन्दा {घाइतेहरुको तस्विरसहित }

बैशाख ४ २०८०, सोमबार

काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले सरकारले मिटरब्याज पीडितमाथि गरेको दमनको निन्दा गरेको छ । सो मोर्चाका संयोजक नारायणप्रसाद शर्माले आज एक विज्ञप्तिमार्फत् काठमाडौंको शान्तिबाटिकामा धर्नामा बसेका पीडितहरुमाथि प्रहरी लगाएर कुटपिट तथा धरपकड गरेको भन्दै विरोध जनाएका छन् । उनले सो अवसरमा विभिन्न राजनीतिक दलका नेताहरुमाथि पनि प्रहरीले लाठीचार्ज गरेको भन्दै विरोध जनाएका छन् ।

‘आज मिटरब्याज पीडित किसान–मजदुर संयुक्त संघर्ष समितिको आयोजनामा जुलुस को तयारी गर्दै गरेका निहत्था जनसमुदाय लगायत कतिपय राजनीतिक पार्टीका नेता, किसान संगठनका नेता, राष्ट्रिय क्रान्तिकारी मोर्चाका नेता तथा बाटो हिंड्दै गरेका बटुवाहरुमाथि सरकारले अत्यन्त क्रूर दमन गरेर दर्जनौं घाइते बनाएको छ भने कैयौंलाई गिरफ्तार गरेको छ । विचित्र विडम्बना त के भयो भने शान्तिबाटिकाभित्र शिविरमा बसेका पीडितहरुको पीडा, माग र आन्दोलनप्रति ऐक्यबद्धता जनाउन पुगेका सरोकारवाला सबैलाई बाहिबाट गेटमा ताला लगाई थुनेर निस्कन दिएन । त्यतिले पनि नपुगेर गेट खोलेर बाहिर निस्कँदै गर्दा अन्धाधुन्द लाठी, अश्रुग्यास र पानीको फोहराद्वारा निर्लज्ज र निर्मम दमन गरेको छ । यसक्रममा लोकनारायण सुवेदी, सिताराम तामाङ, ज्योतिलाल वन, यमकुमारी लगायतका विभिन्न वरिष्ठ राजनैतिक र बौद्धिक व्यक्तित्वहरु एवम् अकबर मियाँ, निर्ग नवीन, कुलबहादुर थापा, कृष्ण महतो, तिलकराम चौधरी, प्रदीप नेपाल आदि दर्जनौं मिटरब्याज पीडितहरुलाई टाउको फुट्ने, रगताम्मे हुने र बेहोश हुने गरी कुट्ने र गिरफ्तार गर्नेजस्तो चरम बर्बरता प्रदर्शन गरेको छ । शान्तिपूर्ण र वैधानिक रुपले आन्दोलन गर्ने पीडितहरु र ऐक्यबद्धता प्रकट गर्ने व्यक्तित्वहरुप्रति भएको यसप्रकारको मध्ययुगीन दमनको हामी पूर्ण निन्दा र भत्र्सना गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

‘वीर अस्पताल लगायतमा उपचातरत सम्पूर्ण घाइतेहरुको निशुल्क उपचार, सानो गौचरण र कालीमाटी लगायतका प्रहरी हिरासतहरुमा लगिएका आन्दोलनकारी मिटरब्याज पीडित जनसमुदायलाई तत्काल रिहाई गर्न र मिटरव्याज पीडितहरुका मागहरु अविलम्ब पूरा गर्न तथा भविष्यमा यसप्रकारका समस्याहरुको दीगो समाधान गर्नका लागि सरकारसँग जोडदार माग गर्दछौं ।’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा मिटरव्याज पीडितहरुका मागहरु पूरा गराई न्याय दिलाउनका लागि आआफ्नो क्षेत्रबाट संयुक्त वा स्वतन्त्र रुपमा सहयोग पुर्याउनका लागि समेत देशका सम्पूर्ण सचेत र जिम्मेवार राजनीतिक शक्ति, बौद्धिक व्यक्तित्वहरु, पत्रकार बन्धुहरु र नागरिक अगुवाहरुलगायत सबै सरोकारवालाहरुसँग विनम्र अनुरोध गरिएको छ ।

शर्माले सम्बन्धित समस्याहरुलाई गम्भीरता र जिम्मेवारीपूर्वक हल गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । साथै शर्माले यसो नगरेमा आउनसक्ने गम्भीर परिणामको जिम्मेवार स्वयम् सरकार हुने र वर्तमान दलाल सरकार र व्यवस्थाले अकल्पनीय क्षति बेहोर्नुपर्ने चेतावनी पनि दिएका छन् ।