काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना वाचन गरेपछि कांग्रेस सांसद रामहरि खतिवडाले प्रतिवाद गरेका छन्।
शून्य समयमा बोलेका सांसद पन्तले प्रधानमन्त्री प्रचण्ड केही दिनअघि संसद् भवनमा झुलुक्क देखिएको र हाल आउनै छाडेको उल्लेख गरेका थिए। ‘उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला,’ उनको भनाइ थियो।
आफ्नो पालो आएपछि बोलेका कांग्रेस सांसद खतिवडाले आज (आइतबार) ३ बजे मन्त्रीको सपथ ग्रहण भएको भन्दै सूचना गर्ने सांसदलाई त्यहाँ उपस्थित हुन अनुरोध गरेका थिए।