काठमाडौँ । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हिजो (शनिबार)पनि सेती नदीको खोजमा परी स्थानीय १२ वर्षीया बालिका स्मृति पराजुलीको ज्यान गएको दुखद् घटनाबारे संसदमा जानकारी गराउँदै त्यहाँको जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी हुन् ।
त्यसका लागि सरकारले विज्ञहरुले दिएको सुझाव अनुसार त्यहाँको सुख्खा पहिरो नियन्त्रणका लागि पनि तत्काल योजना बनाएर काम गर्नुपर्ने उनको भनाई थियो ।
सांसद भट्टराईले भूगर्भविद्हरुले सेती नदीको कारण ठुलै क्षति हुन सक्ने औँल्याएको उल्लेख गर्दै सरकारले उनीहरुले दिएको सुझाव अनुसार त्यसको संरक्षणमा लाग्नुपर्ने बताइन् ।