• बैशाख २७ २०८३, आईतवार

चितवन-२ मा रवि निर्वाचित भए पुनः उपनिर्वाचन हुने सम्भावना

बैशाख ३ २०८०, आईतवार

काठमाडौं । चितवन–२ मा उपनिर्वाचनमा रवि लामिछाने दोस्रोपटक निर्वाचित भए पुनः उपनिर्वाचन हुने एमाले सचिव योगेश भट्टराईले आशंका व्यक्त गरेका छन् । रास्वपाका सभापति रविप्रति लक्षित उनले यस्तो आशंका गरेका हुन् ।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा विजयी भई गृहमन्त्रीसमेत बनेका रवि नागरिकता विवादमा दोषी ठहरिएपछि उनले सबै पद गुमाउनु परेको थियो ।

चुनाव प्रचारका क्रममा चितवन पुगेका भट्टराईले आइतबार बिहान प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको थियो । उक्त सम्मेलनमा रास्वपा सभापति लामिछानेले कानुन उल्लंघन गर्दा चितवन २ मा उपनिर्वाचन गर्नुपरेको बताउँदै पुनः उनी नै विजयी भए फेरि उपचुनाव हुने दाबी गरेका हुन् ।

‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ’, नेता भट्टराईले पत्रकार सम्मेलनमा भने, ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठीकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो ।’

रविकै कारण चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ । जहाँ रविसहित सत्ता गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेलगायत उम्मेदवार छन् ।