काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको बताए ।
नेपाली कांग्रेस मकवानपुर-काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महशुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने टिप्पणी गरे । उनले सुझबुझपूणर् ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराए । सरकारले राम्रो काम गर्दै गए ३-४ महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ थियो ।
महामन्त्री थापाले २०८० सालमा कांग्रेसलाई सुद्धीकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताए । उनले २०८० सालको जेठ अन्तिम साता नेपाली कांग्रेसको नीति अधिवेशन हुने तयारी भइरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदुढीकरण र सुद्धीकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।
महामन्त्री थापाले ‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए ।