काठमाडौ. । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई बसेकै देशबाट भोट हाल्न पाउने व्यवस्था गरिने बताएका छन् ।
माओवादी केन्द्र प्रवास समन्वय समितिद्वारा आयोजित भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले प्रवासी नेपालीलाई उनीहरु रहेकै ठाउँबाट मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाइने बताएका हुन् ।
उनले भने, ‘यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुनेछन् र मताधिकारबाट वञ्चित हुनुपर्दैन ।’
विदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्सबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँद वैदेशिक रोजगारी सुधारका लागि सरकारले धेरै काम गरिसकेको दाबी गर्दै प्रधानमन्त्रीले अझै थप काम गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सले विदेशी मुद्रा सञ्चिति ११ महिनालाई पुग्ने संकलन हुनु आफैंमा अर्थतन्त्र सुधारको संकेत हो ।’ उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आवद्धता श्रमिकको सुरक्षा भएको बताए ।