• बैशाख २७ २०८३, आईतवार

उपनिर्वाचनमा कति मतदाताले मतदान गर्न पाउँछन् ? मतपरिणाम सार्वजनिक हुन कति समय लाग्ला ?

बैशाख १ २०८०, शुक्रबार

काठमाडौं । उपनिर्वाचन हुन उप्रान्त नौँ दिन बाँकी रहँदा कांग्रेस, एमाले, जसपा, रास्वपा, राजमो र केही साना दलहरूलगायतका स्वतन्त्र व्यक्ति चुनावी मैदानमा छन् ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनका लागि दलगत र स्वतन्त्र गरि जम्मा ६९ जनाले मनोनयन दर्ता गराएका छन् । जसमध्ये ८ जना महिला उम्मेदवार छन् ।

उक्त निर्वाचनअन्तर्गत प्रमुख सत्तारूढ माओवादी केन्द्र र साझेदार दल लोसपा चुनावी मैदान बाहिर छन् । कांग्रेस र जसपालाई सघाउने सर्तमा माओवादी केन्द्र र लोसपा मैदान बाहिरै बसेको हुन् ।

गतवर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट तनहुँ–१ मा रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनले २५ हजार ३१८ मत प्राप्त गरि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका एकबहादुर रानालाई झन्डै ६ हजार मतान्तरले पराजित गरेका थिए । रानाले १९ हजार ९४३ मत प्राप्त गरे ।

त्यसलगत्तै पौडेल गत फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित भए । राष्ट्रपतिमा निर्वाचित भएसँगै उनको निर्वाचन क्षेत्र रिक्त छ । रिक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

यस क्षेत्रमा प्रमुख सत्तारूढ माओवादी केन्द्र, साझेदार दल जसपा र लोसपाको समर्थनमा कांग्रेसबाट गोविन्द भट्टराई, प्रतिपक्षी दल एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्ले प्रतिस्पर्धामा छन् । केही स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धाको होडमा छन् ।
तनहुँ–१ मा मतदाता १३५ जना घटेका छन् । यस क्षेत्रमा अब एक लाख २३ हजार ३०५ मतदाता संख्या कायम छ । यी मतदाताले मतदान गर्न सक्नेछन् ।

त्यस्तै चितवन–२ मा यसअघिको निर्वाचनमा रवि लामिछाने भारीमतले विजयी भएका थिए । उनले ४९ हजार २६४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरि पराजित भए ।

रवि निर्वाचित भएलगत्तै उपप्रधान तथा गृहमन्त्रीसमेत बने । तर, नागरिकतासम्बन्धी विवादमा परेपछि उनको सबै पद गुम्यो । योसँगै यस निर्वाचन क्षेत्रमा पनि उपनिर्वाचन हुँदैछ ।

चितवन–२ मा कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका रवि लामिछाने प्रतिस्पर्धामा छन् । केही साना पार्टी र स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् ।

यस निर्वाचन क्षेत्रमा ४८० जना मतदाता थपिएका छन् । अब यहाँको मतादाता संख्या एक लाख २४ हजार ६९५ पुगेको छ । उनीहरू सबैले मतदान गर्न पाउनेछन् ।

त्यसैगरी बारा–२ मा पनि उपनिर्वाचन हुने भएको छ । गत निर्वाचनमा जसपाबाट रामसहायप्रसाद यादव विजयी भएका थिए । उनले १३ हजार ८२३ मत प्राप्त गरि निर्वाचित भए । यादवका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरि पराजित भए ।

यादव गत चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यस क्षेत्रमा पुनः निर्वाचन हुने भएको हो । चुनावी प्रतिस्पर्धामा जसपाका उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल छन् ।

बारा–२ मा मतदाता संख्या २३७ जना थपिएका छन् । योसँगै अब एक लाख पाँच हजार २४८ ले यस क्षेत्रमा हुने उपनिर्वाचनमा मतदान गर्न सक्ने निर्वाचन आयोगले बताएको छ ।

यहीँ महिनाको १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन भएलगत्तै ढिला नगरी मतपरिणाम सार्वजनिक हुने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडल भन्छन्, विगतको निर्वाचनमा भएजस्तै समानुपातिक र प्रत्यक्ष दुवैका मतपत्र गणना गर्नुपर्ने अवस्था नभएकोले मतपरिणाम चाँडै आउँछ । सकेसम्म तीनदेखि पाँच दिनभित्रै परिणाम सार्वजनिक गर्ने तयारीका साथ स्रोत साधन र जनशक्तिको बन्दोबस्त गरिएको छ ।

संविधानका संघीय संसद्अन्तर्गत १६५ सिट पहिलो हुनेले जित्ने प्रणाली र ११० सिट समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । त्यस्तै संसद्को आयु ६ महिनाभन्दा बढीरहे कुनै पनि सिट रिक्त भएमा जुन प्रणालीबाट सांसद चुनिएको हो त्यहीबाट परिपूर्ति गर्नुपर्ने व्यवस्था छ ।