• बैशाख २७ २०८३, आईतवार

गण्डकीका मुख्यमन्त्री अधिकारीले ९ गते राजीनामा दिने

बैशाख १ २०८०, शुक्रबार

पोखरा । संवैधानिक व्यवस्था अनुसार गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनै पर्ने समयसीमाको अन्तिम दिन प्रदेशसभा अधिवेशन आह्वान भएको छ । वैशाख ९ गते प्रदेश सभाको अधिवेशन डाक्ने र प्रदेश सभा सम्बोधन गरेर राजीनामा दिने मुख्यमन्त्री अधिकारीले तयारी गरेका छन् ।

राष्ट्रपतिको निर्वाचनले केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकी प्रदेशमा पनि चैत ९ गते नेकपा माओवादीले एमाले सरकारबाट समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशमबहादुर जुग्जालीले राजीनामा दिएका थिए । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि १ महिनाभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक वाध्यता छ ।

९ गते सरकार अल्पमतमा परेपछि १० गते पत्रकार सम्मेलन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । अधिकारीले प्रत्युत्तरमा संविधानले दिएको समय सुविधा प्रयोग गर्दै संसदमै आफ्नो परीक्षण गर्ने बताएका थिए । तर, अधिकारीले बिहीबारको मन्त्रिपरिषदको बैठकबाट ९ गते संसद अधिवेशन बोलाउने आह्वान गरेका छन् ।

प्रमुख पृथ्वीमान गुरुङ हुँदै यो सूचना प्रदेश सभा सचिवालयमा पनि पुगिसकेको छ तर, अधिकारीले विश्वासको मत पाउने अवस्था नरहेकाले संसदमा संवोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् । ‘विश्वासको मत लिन त्यतिञ्जेलसम्म अरु दलसँग पनि छलफल गर्ने छौं । १-२ दिनभित्रै संसदीय दलको बैठक पनि बस्छ,’ सरकारका प्रवक्ता तथा कानुनमन्त्री मन्त्री रोशन गाहामगरले भने, ‘विश्वासको मतै नपाउने अवस्थामा राजीनामा दिने कुरा त भइ नै हाल्यो ।’

गण्डकी प्रदेशमा ठूलो दलको हैसियतले माओवादीको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज मुख्यमन्त्री बन्न तयारी गरिरहेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बन्न गठबन्धन फेरेपछि गण्डकीको मुख्यमन्त्रीकै एजेण्डासहित चुनावमा होमिएका सुरेन्द्रराजको अवसर पनि गुमेको थियो ।