• बैशाख २७ २०८३, आईतवार

नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन

बैशाख १ २०८०, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् ।

शुक्रबार नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना सन्देश दिंदै उनले यस्तो बताएका हुन् ।प्रधानमन्त्री दाहालले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभंग गर्न गइरहेको एउटा सकारात्मक वातावरण बनिरहेको उल्लेख गरेका छन् ।

राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने उनको भनाइ छ । बैंकको ब्याजदर कम हुँदै गएको पनि उनले बताएका छन् ।

व्यवसायीहरूको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको र राजस्व संकलनमा वृद्धि भइरहेको उनले बताएका छन् ।

सामूहिकताको संस्कृति विकास गर्ने र थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव व्यक्त गर्दै नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन आम नेपालीलाई उनले अपिल गरेका छन् ।