काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने बताएका छन् । कांग्रेसको संस्थापनइतर समूहको आज बिहान बसेको बैठकमा नेता कोइरालाले आफ्नो समूहले पाउने मन्त्रीको संख्याबारे ब्रिफ गरेका थिए ।
उनले उपनिर्वाचनअघि सरकार विस्तारमा जोड दिन नहुने बताउँदै त्यसपछि मात्रै सरकारमा सहभागी हुनुपर्ने बताएका थिए ।
‘हामीले तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछौँ,’ समूहका नेताहरूलाई कोइरालाको ब्रिफ थियो, ‘तर हामी उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुनुपर्छ ।’
यो समूहमा धनराज गुरुङ, डिगबहादुर लिम्बू, जीवन परियार र बद्री पाण्डेमध्ये कुनै तीन जना मन्त्री बन्ने सम्भावना छ । सो समूहबाट मैना रावल र प्रतिमा गौतम राज्यमन्त्रीको आकांक्षी छन् ।
बैठकमा मन्त्रीको कार्यक्षमता मूल्याङ्कन भएको एक सांसदले जानकारी दिए । ‘योग्यता र क्षमता हेरेर मन्त्री छान्ने कुरा भएको छ । मन्त्रीहरू एक वर्षमा फिर्ता बोलाउन पनि सकिने र राम्रो काम गरिरहे निरन्तरता पनि दिन सकिने विषयमा कुरा भयो,’ ती सांसदले भने ।