• बैशाख २७ २०८३, आईतवार

सिंहदरबार वरपरको फोहोर नउठाउनु बालेनको अराजकता हो : शेखर कोइराला

चैत्र ३० २०७९, बिहीबार

काठमाडौँ । कांग्रेस नेता शेखर कोइरालाले काठमाडौं महानगरपालिकाले सिंहदरबार लगायत क्षेत्रको फोहोर नउठाउनु अराजकता भएको बताएका छन् ।

काठमाडौंका मेयर बालेन्द्र शाहले आफूलाई सिंहदरबारले असहयोग गरेको भन्दै सिंहदरबार क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएका थिए । करिब एक सातायता फोहोर उठेको छैन ।

नेता कोइरालाले मेयर बालेनको त्यस्तो कदमलाई अराजकताको संज्ञा दिएका हुन् । उनले जिम्मेवार निकायको यस्तो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताए ।

‘कामनपाले सिंहदरबार लगायतका स्थानको फोहोर नउठाउनु अराजकता हो, जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ,’ कोइरालाले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।

उनले महानगरले विभिन्न प्रश्न उठाएर फोहोर नउठाउने सर्त राख्दा सिंहदरबारले पनि उसैगरी धम्कीको भाषा प्रयोग गर्नु गलत हुने बताएका छन् ।

‘सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिबिम्ब हो । महानगर र सरकार दुवै सच्चिनु पर्छ,’ उनले भनेका छन् ।