काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको स्वास्थ्य उपचार अब सरकारी अस्पतालबाट मात्रै हुने भएको छ ।
अबदेखि आकस्मिक उपचार बाहेकका सबै उपचार सरकारी अस्पतालबाट गराउने क्यान आवद्ध डा अभिषेक राज सिंहले जानकारी दिए ।
‘इमर्जेन्सी कन्डिसनमा चाहिँ नजिककै रहेका जुनसुकै अस्पतालबाट पनि उपचार गराउने हो । सकेसम्म अरुबेला सरकारी अस्पतालबाट लिने नीति अपनाउन खोजेको हो’, उनले भने, ‘जसअन्तर्गत जेनरल स्पिल्डिङ चाहिँ सिभिल सर्भिस अस्पतालबाट आज लियौं । अनि यो आईसीसीको गेम अगाडि डेक्सा स्क्यानिङ (बोनको सेन्सीटी नाप्ने) सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा पत्राचार गरी कर्न्फम भइसकेको छ ।’
मुटुको स्क्यानिङ सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा हुने डा सिंहले बताए । यस्तै वीर अस्पताल, ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल लगायतका सरकारी अस्पतालबाट उपचार गराउने उनले जानकारी दिए ।
‘नीतिगत निर्णय गरेर गर्न लागेको त होइन। तर, सरकारी अस्पतालबाट सेवा लिँदा राम्रो हुने र क्यानलाई पनि आर्थिकभार कम होस् भनेर सरकारी अस्पतालबाटै स्वास्थ्य उपचार गराउने निर्णय भएको हो,’ उनले भने ।