• बैशाख २७ २०८३, आईतवार

स्वर्णिमलाई सुरेन्द्रको प्रश्न : ‘कति पैसा तिरेर रास्वपाबाट टिकट पाउनु भएको हो ?’

चैत्र २९ २०७९, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले स्वर्णिम वाग्लेको आवश्यकता कांग्रेस पार्टीमा नरहेको बताएका छन् । पार्टीमा योगदान र लगानी नभएको भन्दै वाग्लेले पार्टी छाडेको विषयलाई धेरै ‘हाइलाइट’ गर्नु आवश्यक नरहेको उनले बताए ।

‘उहाँ बुढानीलकण्ठ स्कुलबाट एसएलसी दिनेबित्तिकै विदेश जानुभयो, उतै जागिर खानुभयो’, बुधबार गोरखामा पत्रकारहरुसँग कुरकानी गर्दै पाण्डेले भने, ‘हाम्रै नेतृत्वले ल्याएर योजना आयोगमा अवसर दियो, त्यसपछि मात्र तपाईं हामीले उहाँलाई चिनेको हो, पार्टीमा आजसम्म उहाँको केही देन छैन ।’

निर्वाचनअघि पनि विदेशमा रहेका वाग्ले टिकट पाउने आशमा नेपाल आएको तर नपाएपछि पुनः उतै फर्किएको पाण्डेले बताए । कांग्रेसमा पैसा तिरे मात्र अवसर पाइने भन्ने वाग्लेको आरोप गलत रहेको भन्दै उनले थपे, ‘त्यसो हो भने उहाँ कति पैसा तिरेर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो, त्यो जनताको अगाडि भन्नुपर्यो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न रवि लामिछानेको कोर टिमका मान्छेले २ करोड रुपैयाँ मागेको भनी व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग मागेको अडियो सार्वजनिक भएको प्रसंग उठाउँदै पाण्डेले सोधे, ‘उहाँ कति पैसा बुझाएर टिकट लिन जानुभयो त्यो पनि भन्दिनुपर्यो ।’ वाग्लेका कारण तनहुँ कांग्रेसमा बिचलन नआउने उनको तर्क छ ।

हालै कांग्रेस छाडेका स्वर्णिम वाग्ले १० वैशाखमा हुने उपनिर्वाचनमा तनहुँ–१ बाट उम्मेदवार बनेका छन् ।