• बैशाख २७ २०८३, आईतवार

माओवादी केन्द्रको सचेतकमा रूपा चौधरी

चैत्र २९ २०७९, बुधबार

काठमाडौं । प्रमुख सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभाको सचेतकमा रूपा सोसी चौधरीलाई मनोनीत गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतक मनोनीत गरेको सांसद माधव सापकोटाले जानकारी दिए । समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् ।

माओवादीले यसअघि हितराज पाण्डेलाई प्रमुख सचेतक तोकिसकेको छ । बैठकले संसदीय दलको विधान संशोधन गर्न प्रमुख सचेतक पाण्डेको संयोजकत्वमा पाँचसदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ । कार्यदलमा प्रतिनिधिसभाबाट पूर्णबहादुर घर्ती र बिमला सुवेदी तथा राष्ट्रिय सभाबाट जगप्रसाद शर्मा र गंगा बेल्वासे सदस्य छन् ।

कार्यदलले अर्को बैठकमा मस्यौदा प्रस्तुत गर्ने संयोजक पाण्डेले बताए । बैठकमा दलका नेता प्रचण्डले कानुन निर्माणलगायत संसदीय गतिविधिमा प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएका थिए ।