काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले अडियोलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भए भरको शक्ति लगाउन लागिएको आरोप लगाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो हिजो सार्वजनिक भएको थियो ।
यो अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई पार्टीले तत्कालको लागि निलम्बन गरेको छ । छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन श्रेष्ठलाई निर्देशन दिइएको छ ।